भरतपुरमा अन्तरवडा उपमेयर कप भलिबल प्रतियोगिता सुरू

केशव

माघ १६, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिकाको आयोजनामा बुधबारदेखि अन्तरवडा उपमेयर कप (महिला÷पुरुष) भलिबल प्रतियोगिता सुरू भएको छ । भरतपर–१०, स्थित गेष्टहाउस चौरमा सुरू भएको प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समुद्घाटन गरेकी हुन् ।

सो क्रममा बोल्दै प्रमुख दाहालले महिलाहरुलाई पनि समावेश गर्ने गरी यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताइन् । महानगरले सबै खालका खेलकुद गतिविधिलाई बढाउँदै लगेको भन्दै पूर्वाधार निर्माणमा पनि लागिपरेको उनले बताइन् ।

उनले नयाँ कवर्डहलको रुपमा पटिहानीमा निर्माण गरिएको भन्दै क्रिकेट खेलका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अगाडि बढाएको बताइन् । उनले खेलाडीहरुलाई शुभकामना दिँदै आगामि दिनमा उपमेयर कप भलिबललाई अझै भव्य बनाएर लैजाने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख चित्रसेन अधिकारीले महानगरको आफ्नै टिम बनाउने गरी यो भलिबल प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलसँगै आत्मीयता भाइचारा कायम गर्ने भएकाले अनुशासित भएर खेल खेल्न सबैमा आग्रह गरे । उनले आगामी दिनमा अझै व्यवस्थित र भव्यरूपमा प्रतियोगितालाई आयोजना गरिने बताए ।

उद्घाटन समारोहमा भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतो, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, जिल्ला भलिबल संघका महासचिव रमेश विश्वकर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । समुद्घाटन सत्र उपप्रमुख चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसैबीच, प्रतियोगिताको समुद्घाटन खेलमा भरतपुर वडा नं–१४ विजयी भएको छ । वडा नं–२४ लाई २–० को सोझो सेटमा पराजित गर्दै वडा नं–१४ दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो दिन पुरुष र महिलातर्फ समान ३ खेल भएका छन् । पुरुषतर्फको अन्य खेलमा भरतपुर वडा नं–७ ले वडा नं–२२ लाई २–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । तेस्रो खेलमा वडा नं–२८ ले वडा नं–२३ लाई पनि २–१ ले नै पराजित गर्दै दोस्रो स्थानमा प्रवेश पायो ।

महिलातर्फको दुई खेलको नतिजा निस्कियो भने अन्तिम खेलमा भरतपुर–१३ र वडा नं–२३ बी बीचको खेल १–१ सेट जितपछि खराब प्रकाशका कारण आजलाई स्थगित गरी बिहीबार पुनः खेलाईने जिल्ला भलिबल संघका महासचिव रमेश विश्वकर्माले जानकारी दिए ।

माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष र महिला टिमलाई बराबर पुरस्कार राशी राखिएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ र सेमिफाइनलमा पुग्ने दुई टिमले समान १०–१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।