रोटरी क्लबद्वारा बालकुमारीका विद्यार्थीको मुटु जाँच

भरतपुर । रोटरी क्लब चितवनको आयोजनामा बुधबार बालकुमारी माविका विद्यार्थीहरुको मुटु जाँच कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बालकुमारी माविका ३१ जना छात्रछात्राको मुटु परीक्षण गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोज श्रेष्ठले मुटुको इसिजी एवम् अन्य जाँच गरेका थिए ।
कार्यक्रममा रोटरी क्लबका उपाध्यक्ष एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष गोपाल भट्टराईले आफ्नो विद्यालयका बालबालिकाको मुटु परीक्षण गरी सहयोग गरेकोमा रोटरी क्लबप्रति कृतज्ञता ज्ञापन गरे ।
रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर रवीन्द्र पियाले बालबालिकाहरुमा हुने मुटुरोगबारे समयमा नै थाहा पाउन सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरी रोटरी पुननारायण उजेलीदेवी कार्डियाक केयर सेन्टरमा अभियान चलाइएको बताए ।
रोटरी क्लब चितवनका अध्यक्ष भानु शर्माले रोटरीले विश्वव्यापीरूपमा पोलियो अभियान चलाएर लगभग उन्मूलनको अवस्थामा पुगेको जानकारी गराउँदै आफ्नो क्लबले स्वास्थ्यसम्बन्धी धेरै कार्यक्रमहरु चलाइरहेको र आफ्नै भवनमा स्वस्थ मुटुका लागि परीक्षण कार्यक्रमको सुरूवात गरेको जानकारी दिए ।
इस अभियानबाट स्वस्थ मुटुका लागि जागरण फैलाउने र रोगबारे समयमा नै जाँच गरी उचित उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने र अन्य सहयोग गर्ने लक्ष्य लिइएको उनले बताए । अगामी कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई मुटु परीक्षणमा सहभागी गराइने उनले जानकारी दिए ।