चस्मा व्यवसायी संघ चितवन र मौलाकाली अस्पतालबीच सम्झौता

भरतपुर । नेपाल चस्मा व्यवसायी संघ चितवन र भरतपुर–११ बाइपास रोडमा अवस्थित मौलाकाली अस्पतालबीच स्वास्थ्यसम्बन्धी सम्झौता भएको छ ।
नेपाल चस्मा व्यवसायी संघ चितवनका अध्यक्ष भगवती घिमिरे, सचिव शान्ता कँडेल, निवर्तमान अध्यक्ष भाष्करचन्द्र न्यौपाने र सदस्य सुनिल कुँवरको उपस्थितिमा संस्थामा आवद्ध सदस्य एवम् एकाघरका सदस्यहरुलाई स्वास्थ्यसेवामा छूट प्रदान गर्न मौलाकाली अस्पतालबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार संघका सदस्यहरुलाई मौलाकाली अस्पतालको ओपिडीबाहेक सम्पूर्ण सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छूट दिने व्यवस्था गरिएको छ । सो अस्पतालबाट सेवा लिने सेवाग्राही सदस्यहरुका लागि परिचय खुल्ने परिचयपत्र वितरण गरिने सदस्य सुनिल कुँवरले बताए ।
साथै, संस्थाले अन्य अस्पतालहरुसँग पनि स्वास्थ्य उपचारमा छूटसम्बन्धी सम्झौताको पहल भइरहेको कुँवरले जानकारी दिए । स्वास्थ्यजस्तो संवेदनशील विषयमा संस्थाले गरेको प्रयासबाट चस्मा व्यवसायी र उनीहरुका परिवारका लागि राहत मिल्ने अध्यक्ष भगवती घिमिरेले बताइन् ।
उनले संस्थाको आजीवन सदस्यता लिन छुटेका सम्पूर्ण सदस्यलाई आजीवन सदस्यता लिनसमेत उनले अनुरोध गरेकी छन् ।