भरतपुर अस्पतालको वार्षिकोत्सव : रत्ननगरमा ९८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

केशव

चैत्र १६, २०८१

share this:

रत्ननगर । भरतपुर अस्पतालको ६९ औँ वार्षिकोत्सवको अवसरमा रत्ननगरमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । अस्पतालले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बकुलहरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

आयुर्वेद अस्पतालमा गरिएको स्वास्थ्य शिविरमा ९८ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेलले जानकारी दिए । उनले शिविरमा विशिष्टीकृत निःशुल्क स्वास्थ्य शिविरको साथै सन्तानको इच्छा पुगेका दम्पतीलाई स्थायी पुरुष बन्ध्याकरण र अस्थायीमा अन्य परिवार नियोजनका साधन उपलब्ध गराइएको जानकारी दिए ।

५९ जना महिला र ३९ जना पुरुषले स्वास्थ्य परीक्षण गराएको शिविरमा न्युरो मेडिसिन, फिजियोथेरापी तथा अकुपंचर, नेफ्रोलोजी, स्पाइनल, कार्डियोलोजी, अल्ट्रासाउन्ड, युरोलोजीलगायतका सेवा उपलब्ध गराइएको थियो ।

रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवाली, भरतपुर अस्पताल विकास समिति सदस्य प्रनिशा गुरूङ, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगर व्यवस्थापन तथा सञ्चालन समिति सदस्य मीना ढकाललगायतको उपस्थिति रहेको थियो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका व्यवस्थापन तथा सञ्चालन समिति अध्यक्ष राजेन्द्र अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा चिकित्सालयकी प्रमुख डा. कोपिला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम आयुर्वेद चिकित्सक डा. सुमन खनालले सञ्चालन गरेका थिए ।