लोकतन्त्र दिवसमा चौबीसकोठीमा दीप प्रज्वलन

भरतपुर । १९औँ लोकतन्त्र दिवसको अवसरमा भरतपुर चौबीसकोठीमा मैनबत्ती बालेर दीप प्रज्वलन गरिएको छ । राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्थाले बिहीबार चौबीसकोठीमा दीप प्रज्वलन गरेका हुन् ।
नेपाली कांग्रेस चितवनले साँझ चौबीसकोठीमा दीप प्रज्वलन गरेको थियो । यस्तै, गैसस महासंघ चितवन शाखाले पनि लोकतन्त्र दिवसमा चौबीसकोठीमा दीप प्रज्वलन गरेको थियो । मानवअधिकार तथा शान्ति समाज चितवनले पनि लोकतन्त्र दिवसमा चौबीसकोठीमै दीप प्रज्वलन गरेको छ ।
नेपाली कांग्रेसले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा उक्त पार्टीका केन्द्रीय सदस्य टेकप्रसाद गुरूङ, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, कांग्रेसका पूर्वजिल्ला सभापति जीतनारायण श्रेष्ठलगायत जिल्ला तथा क्षेत्रीयस्तरका नेताहरुको उपस्थिति थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले लोकतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको हुनाले औपचारिकतामा मात्र सीमित गर्न नहुने बताए ।
गैसस महासंघ चितवन शाखाले आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा अध्यक्ष पार्वती घिमिरे दवाडीले लोकतन्त्रको संस्थागत विकासमा नागरिक समाज निरन्तर लाग्नुपर्ने बताइन् । कार्यक्रममा गैससका पूर्वअध्यक्ष खगराज ओझा, सचिव रामचन्द्र आचार्य, माया श्रेष्ठ, रसु थकालीलगायतको उपस्थिति रहेको थियो ।