ग्रीनल्यान्ड र पुष्पाञ्जलीबीच उपचारमा छूट सम्झौता

भरतपुर । भरतपुर–१२ स्थित ग्रीनल्यान्ड पब्लिक स्कुल र पुष्पाञ्जली हस्पिटलबीच उपचार सेवामा छूटसम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार अस्पतालले स्कुलका सेयर सदस्य, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र परिवारका सदस्यलाई उपचारमा २५ प्रतिशत छूट दिने छ । उपचारसँगै विभिन्न परीक्षणमा पनि अस्पतालले छूट दिने सहमति भएको छ ।
यस्तै, हस्पिटलले औषधिमा ७ प्रतिशत तथा शल्यक्रिया, सिटी स्क्यान र क्याबिनमा १० प्रतिशत छूट दिने छ । स्कुलले आयोजना गर्ने स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा सचेतना वा अन्य कुनै पनि स्वास्थ्य सम्बन्धित कार्यक्रम गर्दा हस्पिटलले आवश्यक सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ ।
सम्झौता पत्रमा हस्पिटलका तर्फबाट अध्यक्ष चेतनाथ वाग्ले, निर्देशक सुजन अधिकारी तथा स्कुलको तर्फबाट प्राचार्य इन्दिरा पन्त कार्की र सहप्राचार्य उपेन्द्र आचार्यले हस्ताक्षर गरेका छन् । हस्पिटलका अध्यक्ष वाग्लेले सामाजिक उत्तरदायित्व वहन गर्दै ग्रीनल्यान्डसँग सहकार्य र सम्झौता गरिएको बताए । यो सम्झौताले विद्यालय परिवारलाई धेरै सुविधा उपलब्ध गराउने स्कुलकी प्राचार्य कार्कीको भनाइ थियो ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा हस्पिटलका सामाजिक सेवा इकाइ प्रमुख केदारप्रसाद सुवेदी, वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी, स्कुलका शिक्षक कृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।