वार्षिक बजेट तर्जुमाका लागि रत्ननगर–१ मा वडा भेला

रत्ननगर । रत्ननगर–१ वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०८२–०८३ को वार्षिक योजना तर्जुमा तथा प्राथमिकीकरणको लागि बस्ती तथा टोलस्तरीय वडा भेला गरिएको छ ।
कार्यक्रममा वडाध्यक्ष कुलप्रसाद सापकोटाले सबैभन्दा ठूलो मानसिक विकास र सोचको विकास भएको बताए । उनले सीमित स्रोत र साधनले भ्याएसम्म आफूले प्राथमिकताका साथ वडावासीको माग सम्बोधन गर्न सफल भएको बताए ।
कार्यक्रममा पूर्ववडा सदस्य बाबुराम गौतमले बजेटको आकारअनुसार वडा समितिले सराहनीय कार्य गरेको भन्दै आगामी दिनमा पनि सबैको रायसुझावका आधारमा बजेट निर्माण गर्न जोड दिए ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका डा. देवेन्द्र यादवले पछिल्लो समय नसर्ने रोगहरु बढ्दो क्रममा रहेकाले ज्येष्ठ नागरिक तथा सुत्केरी महिलालाई लक्षित गरी केही बजेट विनियोजन गर्न सुझाव दिए ।

वडा सचिव महेश सुवेदीले सहजीकरण तथा सुझाव संकलन गरेको कार्यक्रममा निपनी टोल विकास संस्थाका अध्यक्ष बाबुलाल महतो, रत्ननगर टोलका कोपिलनारायण श्रेष्ठ, बकुलहर टोलका खड्गबहादुर श्रेष्ठ, एकता टोलका अध्यक्ष एवम् नवदुर्गा आमा समूहकी अध्यक्ष चन्द्रिका महत, छहारी टोलका महेन्द्र चौधरी, दुर्गामन्दिर टोलका दिलीप सुवेदी, मिलिजुली टोलका चक्रपाणि वाग्ले, सरस्वती टोलका टीकाराम ढकाल, हरिहर क्षेत्रका होमनाथ लामिछाने, संगम टोलका नवराज सुवेदी, बुद्धशान्ति टोलका सुरजमान तामाङलगायतले आआफ्ना रायसुझाव पेस गरेका थिए ।