कालिकामा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कार्यसम्बन्धी अन्तर्क्रिया

कालिका । जनस्वास्थ्य कार्यालय चितवनको आयोजनामा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कार्यसम्बन्धी अन्तर्क्रिया, समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम कालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा कालिका नगरस्थित नगरअस्पताल, आधारभूत स्वास्थ्य संस्थाका प्रमुख एवम् स्वास्थ्यकर्मीहरु तथा सरोकारवालाको सहभागिता रहको थियो । फोहोरको व्यवस्थापन चुनौतीको रुपमा रहेको र त्यसमा पनि अस्पतालजन्य फोहोर निर्मलीकरण गरी व्यवस्थापन गर्न अझै पनि चुनौती रहेको कार्यक्रमका प्रमुखअतिथि नगरउपप्रमुख विमला तामाङले बताइन् ।
फोहोरको वर्गीकरण गरी सेग्रिगेसनको काम केही महिनाभित्र सुरू गर्ने तयारीमा रहेको र अहिले आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले बताए ।
जनस्वास्थ्य कार्यालय चितवनका कार्यक्रम अधिकृत गुरुप्रसाद कँडेलले सञ्चालन तथा सहजीकरण गरेको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अस्मिता पौडेलले कार्यक्रमको उद्देश्य बारेमा प्रकाश पारेकी थिइन् ।
कार्यक्रममा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कसरी भैरहेको छ भन्ने विषयमा समीक्षा गर्दै भावी योजना बनाउने उद्देश्य राखेर राष्ट्रिय मापदण्डअनुसार स्वास्थ्यजन्य फोहोर व्यवस्थापन गर्न अन्तर्क्रिया गरिएको कार्यक्रम अधिकृत कँडेलले बताए ।
कार्यक्रममा टिडिएचका वास कार्यक्रम अधिकृत प्रतीज्ञा श्रेष्ठले स्वास्थ्य सेवा विभागलाई प्राविधिक सहयोग गर्दै आएको बताउँदै उनले खानेपानी र सरसफाइसम्बन्धी वास फिट टुल्सको व्यवस्थापनबारे प्रशिक्षण दिएकी थिइन् । यस्तै, भरतपुर अस्पतालका वास फिट फोकल पर्सन प्रमुख डोलराज तिमिल्सिनाले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, कालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङ्तान, कालिका–२ का वडाध्यक्ष लक्ष्मण पौडेल, कालिका–३ का वडाध्यक्ष वीरेन्द्र तामाङ, कालिका–४ का वडाध्यक्ष मकरमान श्रेष्ठ, प्रशासन प्रमुख रामप्रसाद अधिकारी, आर्थिक शाखा संयोजक प्रकाशचन्द्र पौडेललगायतको सहभागिता रहेको थियो ।