रत्ननगरमा विद्यार्थीलक्षित विपद् प्रतिकार्य तालिम सुरू

रत्ननगर । रत्ननगर नगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि दुईदिने विपद् प्रतिकार्य तालिम सुरू भएको छ । नगरपालिकामा बाढीको उच्च जोखिमयुक्त क्षेत्रका वडा नं–५, ६, ७, ८ र ९ भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई केन्द्रित गरी दुईदिने विपद् प्रतिकार्य तालिम सुरू भएको हो ।
तालिमबाट विद्यार्थीहरूलाई भूकम्प, आगलागी, बाढीपहिरोजस्ता विपद्बाट बच्ने र बचाउने तरिका, प्राथमिक उपचारसम्बन्धी ज्ञान, विद्यालय परिसरमा हुन सक्ने विपद्जन्य घटनाको पहिचान र न्यूनीकरण, साथै नेतृत्व विकाससम्बन्धी सीप प्रदान गर्न सहयोग पुग्ने कार्यक्रमका प्रशिक्षक समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष एवम् सेफ्टी अफिसर वसन्त रानाले बताए । तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई विपद्को समयमा आफू सुरक्षित रहँदै अरूलाई सहयोग गर्न सक्षम बनाउनु रहेको प्रशिक्षक रानाले बताए ।
तालिमले विद्यार्थीहरूलाई विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्न र समुदायमा विपद्बाट जोगिन सहजता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्दै विपद्लाई रोक्न नसकिए पनि पूर्वतयारीमार्फत् क्षति न्यूनीकरण गर्न सकिने भएकाले सो तालिम सञ्चालन गरिएको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले बताए ।
साथै, तालिमपश्चात् विद्यार्थीहरूलाई जिम्मेवार नागरिकको रूपमा तयार गर्न र समुदायमा विपद्सम्बन्धी सचेतना फैलाउन महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको प्रमुख श्रेष्ठले बताए ।
तालिममा रत्ननगर–१ का वडाध्यक्ष एवम् नगरप्रवक्ता कुलप्रसाद सापकोटा, रत्ननगर–७ का वडाध्यक्ष सजना महतो र कार्यपालिका सदस्य राम रिमालको उपस्थिति रहेको थियो ।

वन तथा वातावरण र विपद् व्यवस्थापन समितिका संयोजक एवम् रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।