मालपुर माविमा पञ्जीकरणबारे सचेतना समापन

केशव

असार ६, २०८२

share this:

रत्ननगर । रत्ननगर–७, सौराहास्थित मालपुर माविमा घटना दर्ता तथा पञ्जीकरणसम्बन्धी सचेतना कार्यक्रम समापन गरिएको छ ।

रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा भएको कार्यक्रममा सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जन्म, विवाह, मृत्यु, बसाइँसराइ, सम्बन्धविच्छेदजस्ता घटना ३५ दिनभित्र दर्ता गराउन विद्यार्थी तथा शिक्षकहरुलाई सचेतना प्रदान गरेका हुन् ।

उनले जन्मदर्ता हरेक प्रयोजनका लागि आवश्यक पर्ने भएकाले ३५ दिनभित्र दर्ता गराउनुपर्ने बताए । एसइई परीक्षा, नागरिकता, बैंक खाता, राष्ट्रिय परिचयपत्र, विवाह र बसाइँसराइका लागि पहिलो आधारभूत कागजात नै जन्मदर्ता भएकाले नाम र जन्ममिति फरक नपर्ने गरी सही सूचना र तथ्यमा आधारित रहेर घटना दर्ता गराउन उनले आग्रह गरे ।

उनले बैंक खातादेखि सामाजिक सुरक्षा भत्तासम्मको प्रयोजनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य रहेकाले जन्मदर्तादेखि नै सचेत भएर सही विवरण पेस गरी घटना दर्ता गराउनुपर्ने बताए । विवाह दर्ताको लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने अन्यथा बालविवाह मानिने र त्यस्तो विवाह बदरयोग्य वा गैरकानुनी हुने उनले बताए । यस्तै, सम्बन्धविच्छेदको निर्णय अदालतबाट हुने र श्रीमान्–श्रीमती कुनै एक सूचक भई घटना दर्ता गर्न सकिने पुनः विवाहको सवालमा पनि सम्बन्धविच्छेदको घटना सम्बन्धित पालिकाको वडा कार्यालयमा दर्ता गरेपछि विवाह गर्न सकिने बताए ।

उनले एसइई परीक्षाका लागि २०८२ चैत मसान्तसम्म १४ वर्ष पूरा हुनुपर्ने व्यवस्था रहेकोले एकवर्षभित्र दर्ता भएको घटनाको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयमा दर्ता खारेजीको प्रक्रिया पूरा गरी पुनः दर्ता गर्न सकिने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर खत्री, विद्यार्थी अभिभावक विद्यालय संघका अध्यक्ष आशशमान लामा, वडाध्यक्ष केशवराज शर्मा, शिक्षक शिवनारायण चौधरीलगायतले घटना दर्ताको समस्यासम्बन्धी विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

रत्ननगर–७ का वडाध्यक्ष सजना महतोको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा सदस्य सूर्यबहादुर तामाङले जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनु बच्चाको अधिकार पनि भएकाले समयमै घटना दर्ता गर्ने बानीको विकास गर्नुपर्ने बताए ।