रत्ननगरको एक अर्ब ५४ करोडको बजेट प्रस्तुत

रत्ननगर । रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार रत्ननगर–७ स्थित नगरसभा हलमा आयोजित १७औँ नगरसभाले आगामी आर्थिक वर्षको लागि एक अर्ब ५४ करोड ६५ लाख ७३ हजार रुपैयाँबराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नगरसभामा नगरप्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम र उपप्रमुख यादवप्रसाद पाठकले बजेट प्रस्तुत गरेका थिए ।
नगरसभामा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक उपप्रमुख पाठकले एक अर्ब ५४ करोड ६५ लाख ७३ हजार रुपैयाँबराबरको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा संघीय समानीकरण अनुदान १७ करोड ८९ लाख, संघीय राजस्व बाँडफाँड १३ करोड ४० लाख ७१ हजार, संघीय सर्शत अनुदान चालूतर्फ ३६ करोड ८२ लाख, संघीय सर्शत पुँजीगत २ करोड ८८ लाख, संघीय विशेष अनुदान ६८ लाख, संघीय समपूरक अनुदान ५५ लाख, प्रदेश समानीकरण अनुदान एक करोड ८९ लाख ८१ ह्जार आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै, प्रदेश राजस्व वाँडफाँड ६ करोड २२ लाख ६४ लाख, प्रदेश सर्शत चालू ३ करोड ५६ लाख ५६ हजार, प्रदेश सर्शत पुँजीगत १ करोड ५० लाख, प्रदेश विशेष अनुदान ६५ लाख, प्रदेश समपूरक अनुदान १ करोड ७७ लाख, स्थानीय राजस्व बाँडफाँड तथा घरजग्गा रजिस्टे«सन दस्तुर ९ करोड, आन्तरिक स्रोत १४ करोड ५२ लाख, अघिल्लो आर्थिक वर्षको बाँकी मौज्दात रकम १० करोड, सामाजिक सुरक्षा ३२ करोड ५० लाख, सडक बोर्ड ८० लाख आम्दानी हुने अनुमान गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले विनियोजित बजेटबाट १७ शीर्षकमा आम्दानी हुने अनुमान गरिएकोमा २० वटा शीर्षकमा खर्च गरिने जानकारी दिए ।
नगरसभामा उपप्रमुखले प्रस्तुत गरेको आर्थिक प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको छ । यस्तै, पाठकले प्रस्तुत गरेको आर्थिक ऐन, विनियोजित विधेयक, अनुगमन समितिको प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
यस्तै, लेखा समितिका संयोजक सूर्यबहादुर तामाङले प्रस्तुत गरेको लेखासमिति प्रतिवेदन सर्वसम्मत पारित भएको छ । विधायन समितिका संयोजक वीरेन्द्र चौधरीले प्रस्तुत गरेको विधायन समितिको प्रतिवेदन पनि सर्वसम्मत पारित भएको छ । यस्तै, धीरेन्द्रप्रसाद घिमिरेले प्रस्तुत गरेको सुशासन समितिको प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।
यसैगरी, सामाजिक समितिका संयोजक बालकृष्ण चापागाईंले प्रस्तुत गरेको जनस्वास्थ्यसेवा विधेयक, २०८२ सहित कुल ११ वटा एजेन्डामाथि छलफल गरी सर्वसम्मत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।
यसैबीच, रत्ननगर नगरपालिकाले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ ।