रत्ननगर–११ को स्क्रिनिङ शिविरमा चार क्षयरोगीको पहिचान

केशव

असार १३, २०८२

share this:

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रत्ननगर–११, जिरौनास्थित नगर स्वास्थ्यकेन्द्रमा एआई प्रविधिबाट निःशुल्क छातीको एक्स–रे परीक्षण शिविर सम्पन्न भएको छ ।

नगर स्वास्थ्यकेन्द्र जिरौनाका इन्चार्ज दुर्गा श्रेष्ठका अनुसार कुल २६१ जनाको छातीको एक्स–रे परीक्षण गरिएकोमा चार जनामा पिसिडी केस (छातीको क्षयरोग) पत्ता लागेको छ । यस्तै, शंकास्पद देखिएका ७ महिलासहित १७ जनाको खकार संकलन गरी थप जाँचका लागि बकुलहर रत्ननगर अस्पतालमा ‘जिन एक्सपर्ट’ परीक्षणका लागि पठाइएको उनले जानकारी दिइन् ।

रत्ननगर–११ का सदस्य एवम् कार्यपालिका सदस्य यशोदा अधिकारी पौडेलले छातीको एक्स–रे परीक्षण परी कार्यक्रमको उद्घाटन गरेकी हुन् । सो अवसरमा कार्यक्रमकी अध्यक्ष पौडेलले सकभर रोग लाग्न नदिनेतर्फ हरेक व्यक्ति सचेत हुनुपर्ने र रोग लागेमा पनि उपचार गरे पूर्णरुपमा निको हुने भएकाले क्षयरोगका शंकास्पद व्यक्तिले परीक्षण गर्नुपर्नेमा जोड दिइन् ।

उनले क्षयरोग लागेका बिरामीहरुका लागि वडा र कार्यपालिकाको तर्फबाट पौष्टिक आहार उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरिन् । वडाले विपन्न व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य बिमा गरी स्वास्थ्य उपचार गराउँदै आएको उनले बताइन् ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले क्षयरोग लाग्दैमा डराउनु नपर्ने र छ महिना नियमित औषधि सेवन गरेमा पूर्णरुपमा निको हुने बताए । रत्ननगर नगरपालिकाले सम्भावित जोखिमको क्षेत्रहरु पहिचान गरी रत्ननगर–९ र रत्ननगर–११ मा एआई प्रविधिबाट निःशुल्क छातीको एक्स–रे गरी क्षयरोगको स्क्रिनिङ शिविर सञ्चालन गरिएको जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत पौडलले क्षयरोग सरुवा रोग भएकाले हरेक व्यक्ति आफू सुरक्षित हुनुपर्ने बताए । भीडभाड बढी हुने स्थानमा सामाजिक दूरी कायम राख्दै क्षयरोग, कोभिडजस्ता सरुवा रोगबाट बच्न उनले सचेत गराए ।

कार्यक्रममा प्रमुखअतिथि जन्त्रका डा. प्रमोदराज भट्टराईले एआई प्रविधिको माध्यमबाट एक्स–रे गर्दा फोक्सोको अवस्था, श्वासप्रश्वासको अवस्था, धूँवा–धूलोको असर र मुटुको आकारबारे थाहा पाइने भएकाले यो प्रविधि निकै प्रभावकारी रहेको बताए ।

उनले नेपालमा ६५ वर्षमाथिका २३ प्रतिशत मानिसमा क्षयरोग पत्ता लागेको र क्षयरोगको सम्पर्कमा रहने व्यक्तिलाई ६ गुणासम्म क्षयरोग लाग्ने सम्भावना रहेको बताए । मधुमेह, एचआइभी लागेका व्यक्ति, उद्योगमा काम गर्ने मजदुर, वृद्धाश्रममा रहेका र एउटै कोठामा धेरै जना बस्नेहरुमा क्षयरोगको जोखिम बढी हुने डा. भट्टराईले जानकारी दिए ।

स्वास्थ्य शाखाका क्षयरोग फोकल पर्सन आशिका घिमिरेले सञ्चालन तथा सहजीकरण गरेको कार्यक्रममा जन्त्र चितवनका क्षयरोग संयोजक सन्दीप रावललगायतको प्राविधिक टोलीले सहजीकरण गरेको थियो । कार्यक्रममा स्वास्थ्यकर्मीहरु, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु, वडाका क्षयरोग संयोजकलगायतको सहभागिता रहेको थियो ।