चीनको सिगात्सेका मेयरसहितको भ्रमण टोली भरतपुरमा

केशव

असार १४, २०८२

share this:

भरतपुर । चीनको सिगात्से सहरका मेयर वाङ फङ हुङको भ्रमण टोली शनिबार भरतपुर आइपुगेको छ । भरतपुरको भगिनी सम्बन्ध रहेको सिगात्से सहरका मेयरसहितको टोलीलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले कार्यालयमा स्वागत गरिन् ।

सिगात्से सहरका मेयर वाङ फङ हुङ र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच दुई पालिकाबीच सहकार्यलाई थप उचाइ दिने विषयमा छलफल भएको थियो । भेटमा आपसी हित, दुई सहर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको हो ।

प्रमुख दाहालले मित्रराष्ट्र चीन र नेपालको दौत्यसम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा सधैँ सकारात्मक रहेको बताइन् । महानगरपालिका प्रमुख दाहालले भरतपुरको फोहर व्यवस्थापनमा सिगात्से सहर र चीनको सहयोग प्रस्ताव गरिन् ।

सिगात्से सिटीको सबै क्षेत्रमा भएको उच्च प्रविधिको प्रयोग, हरियाली सहर, समय व्यवस्थापन एवम् प्रभावकारी फोहर व्यवस्थापनको अभ्यास भरतपुर महानगरपालिकामा पनि क्रमिकरुपमा अगाडि बढाइरहेको उनले. बताइन् । ‘विशेष गरी फोहरमैला व्यवस्थापनमा यहाँहरुको सहयोगको अपेक्षासमेत गरेका छौँ’, उनले भनिन् ।

प्रमुख दाहालले चीनबाट भरतपुरमा धेरैभन्दा धेरै पर्यटक भ्रमणका लागि वातावरण निर्माण गर्न आग्रह गरिन् ।

यस्तै, सिगात्से सहरका मेयर हुङले भरतपुर महानगरपालिकासँग थप व्यापारिक सम्बन्ध अघि बढाउन खोजेको उल्लेख गरे ।

भरतपुरमा उत्पादन भएका ग्रीन फार्मिङलाई सिगात्सेले आयात गर्न खोजेको उनको भनाइ थियो । उनले भरतपुर प्राकृतिकरुपमा अति नै सुन्दर रहेकाले चीनबाट भरतपुर घुम्नका लागि पर्यटकलाई निमन्त्रणा दिने पनि बताए । सिगात्से र भरतपुरबीच गत वर्षको कार्तिक महिनामा भगिनी सम्बन्ध कायम भएको थियो ।