अखिल नवलपुरका सचिवको साधारण सदस्यता खोसियो
नवलपुर, चैत १३ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपुरले जिल्ला कमिटि सचिवलाई कारवाही गरेको छ ।
संगठनका जिल्ला अध्यक्ष विष्णु पौडेलले एक पत्र जारी गर्दै सचिव प्रशान्त सिग्देललाई संगठनको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिएको जनाएका छन् ।
सिग्देललाई चैत ५ गते सम्मपन्न स्ववियू निर्वाचनमा संगठनको हित र अनुशासन विपरीत कार्य गरेको आरोप लगाइएको छ । सिग्देललाई मध्यविन्दु बहुमुखी क्याम्पसमा संगठनका आधिकारिक उम्मेदवारको विरुद्धमा लागेको आरोप छ ।
चैत ७ गते २४ घन्टे स्पष्टीकरण माग गर्दा समेत जवाफ नआएपछि संगठनको विधानको धारा ३० बमोजिम कार्बाही गरिएको पत्रमा उल्लेख छ । सौ कार्बाहीको वोधार्थ जानकारी अनेरास्ववियुको प्रदेश, केन्द्रीय र अनुशासन कमिटिका साथै पार्टीको नगर र जिल्ला कमिटिलाई समेत गराएको छ ।
मध्यविन्दु बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु चुनावमा अनेरास्ववियुका पूर्व केन्द्रिय सदस्य समेत भइसकेका बागी उम्मेदवार केशव भुसाल सभापतिमा निर्वाचित भएका छन्।
एमाले निकट अखिलको गढ मानिएको मध्यविन्दुमा अखिलका आधिकारिक उम्मेदवार दशरथ सुवेदी (नेल्शन) भारी मतान्तर सहित तेस्रो स्थितिमा रहन पुगे।
स्वतन्त्र उम्मेदवारी दर्ता गरे लगत्तै भुसाललाई पनि अनेरास्ववियु केन्द्रिय कमिटिले कार्वाही गरिसकेको छ ।