चितवनमै पहिलोपटक आदिवासी जनजाति महोत्सव हुने

चितवन अनलाईन न्युज

फाल्गुन १८, २०८०

share this:

भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले चितवनमै पहिलोपटक आदिवासी जनजाति महोत्सव गर्ने तयारी थालेको छ । भरतपुर भ्रमण वर्ष–२०२४ लाई लक्षित गरी आउँदो चैत दोस्रो साता महोत्सव गर्ने तयारी गरिएको महासंघले जनाएको छ । ‘आदिवासी जनजाति सांस्कृतिक एवम् व्यापारिक महोत्सव–२०८०’ नाम दिएर महोत्सव आयोजना गर्ने तयारी थालिएको महासंघका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए ।

उनका अनुसार गत मङ्सिर अन्तिम साता नै महोत्सव गर्ने तयारी थालिएको थियो । तर, महानगरपालिकाबाट भ्रमण वर्षभित्रै पर्ने गरी महोत्सव आयोजना गर्न सुझाव आएपछि सोहीअनुसार चैत महिनामा महोत्सव गर्ने निश्चित भएको अध्यक्ष दुराले जानकारी दिए । ‘महानगरको भ्रमण वर्षको तयारी, महोत्सव स्थलको व्यवस्थापन, अन्य मेला–महोत्सवलगायतका कारण आदिवासी जनजाति महोत्सव अलि पछि धकेलियो’, उनले भने ।

आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ । ‘भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ’, उनले भने, ‘यसो भन्दैगर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन ।’

महोत्सवलाई सबैको साझा महोत्सव बनाउने विषयमा जनजाति महासंघ सचेत रहेको उनले बताए । महोत्सवबाट आदिवासी जनजाति सांस्कृतिक हिसाबले पनि एकतामा रहेको सन्देश फैलाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

महासंघका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदीकिनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक स्टल रहने छन् । चैतको ९ गतेदेखि महोत्सव लगाउने निश्चित भइसकेको हुँदा तयारीलाई तीव्र पारिएको उनले बताए । ‘हामीसँग तयारी गर्ने समय एक महिना पनि छैन । त्यसकारण तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘त्यसकारण भरतपुर महानगरपालिकाबाट अनुमति पाइसकेपछि हामी तयारीलाई नै तीव्रता दिइरहेका छौँ ।’

कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउने गरी तयारी थालिएको उनले बताए । चितवनमा थारु, चेपाङ, तामाङ, गुरूङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७ वटा आदिवासी जनजाति समुदाय संगठित छन् । ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासंघका सचिव भुजेलले जानकारी दिए ।

‘महोत्सवमा चितवनका आदिवासी जनजातिसम्बद्ध सबैजसो संघसंस्थाको प्रतिनिधित्व हुने छ’, उनले भने, ‘सबै जातजातिले आआफ्नो भेषभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउने छन् ।’ त्यसबाहेक चितवन जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने गरी महोत्सव आयोजना गर्न लागेको उनले बताए । ‘स्थानीय उत्पादनको प्रवद्र्धन तथा बिक्रीवितरण, कृषि, जडीबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्रीवितरण गरिने छ’, उनले भने ।

चितवन जिल्लाका आदिवासी जनजाति समुदायलाई संगठित बनाउन विसं २०५५ सालमा ओम गौचनको अध्यक्षतामा नेपाल आदिवासी जनजाति संघ गठन भएको थियो । संस्था स्थापनाको साढे दुई दशकपछि हाल महासंघले पहिलोपटक महोत्सव आयोजना गर्ने तयारी थालेको हो ।

Source: Chitwan Post