त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु, एक बेपत्ता
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५, सिमलधारास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिबार बिहान ७ः१५ बजे त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सी चालक गोरखा नगरपालिका वडा नं–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको हो । दुर्घटनामा १८ वर्षीय दिवस रोकाय बेपत्ता भएका छन् ।
पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किंदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा पनि नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिए । खोजी गर्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा ट्याक्सी खसेको भेटिएको उनले बताए ।
ट्याक्सी दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भैसकेको र बेपत्ता हुनेको खोजी कार्य भइरहेको उनले जानकारी दिए ।