मेलमिलापको नीति व्यवहारमा उतारौँ : डा. कोइराला

केशव

पुस १७, २०८१

share this:

रत्ननगर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मेलमिलापको नीति व्यवहारमा उतार्न आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवन क्षेत्र नं–१ (क)को आयोजनामा मंगलबार रत्ननगरमा आयोजित ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता र अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले मेरो र तेरो नभनी मेलमिलापको नीतिबाट हिँड्न सकेमा कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताए । डा. कोइरालाले पार्टीभित्र आपसी मेलमिलाप र एकताको खाँचो रहेको बताउँदै देश र जनताप्रति लगाव भएमात्रै मेलमिलापको नीति सम्भव हुने जिकिर गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु टेकप्रसाद गुरूङ र गुरूराज घिमिरेले पार्टीका शीर्ष नेताहरुले आफ्नो स्वार्थलाई केन्द्रमा राख्न छोडेमात्रै एकता र मेलमिलाप दुवै कायम भएर बलियो शक्तिका रुपमा पार्टी स्थापित हुने बताए । लोकतन्त्र र राजनीतिबीचको एकता अहिलेको आवश्यकता रहेकोमा उनीहरुले जोड दिए । राजनीतिमा मेलमिलापले लोकतन्त्रको भविष्य सुुनिश्चित हुने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, नेपाली कांग्रेस चितवनका नेताहरु कमल आचार्य, उत्तम आचार्य, शम्भु अर्याल, नीता ढकाल, भरत खनाल, गणेश मल्ल, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा, नेपाली कांग्रेस चितवन क्षेत्र नं–१ (क)का क्षेत्रीय सभापति गोविन्द गौतमलगायतले नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गर्न नसक्दा देशमा अहिलेको अवस्था सृजना भएको बताए । विद्यमान अवस्थालाई चिर्नका लागि पनि विपी कोइरालाको मेलमिलापको नीतिलाई प्रमुखताका साथ अघि बढाउन आवश्यक रहेकोमा उनीहरुले जोड दिए ।

‘महाधिवेशन आमनिर्वाचनपछि उपयुक्त’

यसैबीच नेता डा कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आमनिर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए । उनले भने, “विसं २०८४ मा आमनिर्वाचन हुनेछ । त्यसको दुई वर्षपहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।”

निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आमनिर्वाचनमा पर्ने बताए ।

उनले भने, “कोइराला परिवार एक होइन विचार एक हुनु प¥यो । विचार एक भए हुन्छ ।” महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरुलाई दुरूस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए ।