सनमको निर्णायक गोलमा बागमती विजयी

केशव

माघ १३, २०८१

share this:

भरतपुर । चितवन ११ फुटबल क्लबको आयोजनामा जारी मिन्नानो राइजिङ भरतपुर गोल्डकपमा बागमती युवा क्लब विजयी भएको छ । आइतबार सम्पन्न खेलमा बागमतीले सूर्यपुर फुटबल क्लबलाई १–० ले हराएको हो ।

नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा बागमतीको जितमा सनम धिमालले निर्णायक गोल गरे । उनले खेलको २० औँ मिनेटमा गरेको गोल नै बागमतीलाई जिताउन पर्याप्त भयो ।

दोस्रो हाफमा सूर्यपुरले केही मौका पाए पनि सदुपयोग गर्न सकेन । बागमतीको जितमा निर्णायक गोल गरेका सनम प्लेयर अफ द म्याच भए । यो जितपछि बागमती सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगितामा सोमबार गैँडाकोट फुटबल क्लब र प्याराडाइज युवा क्लब भिड्नेछन् । खेल दिउँसो ३ः०० बजे हुनेछ । १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टोली सहभागी छन् ।