चितवन प्रहरी प्रमुख राजन लिम्बूलाई उद्योग वाणिज्य संघ–चितवनमा स्वागत

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनले चितवनका प्रहरी प्रमुखको स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूलाई संघमा स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी गराउँदै विगत लामो समयदेखि उद्यमी व्यवसायी र प्रहरी प्रशासन एकापसमा सहकार्य गर्दै अगाडि बढेको स्मरण गराए । उनले आगामी दिनहरुमा पनि सहकार्य रहिरहने अपेक्षा व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको पर्यटन विकासका लागि रात्रिकालीन बजारको आवश्यकता रहेको बताउँदै रात्रिकालीन बजार सञ्चालनका लागि व्यवस्थापनमा सहयोगको अपेक्षा व्यक्त गरे । उनले जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै चितवन महोत्सव सफलताका साथ सम्पन्न गर्न सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यालय चितवनप्रति आभार प्रकट गरे ।
कार्यक्रमका प्रमुखअतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसर बाँकी नराख्ने बताउँदै उनले शान्ति सुरक्षा व्यवस्थापनमा उद्योगी, व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको धारणा व्यक्त गरे ।
कार्यक्रममा संघका संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर केसीलगायत संघका कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले गरेका थिए ।