सीमित बजेटका कारण चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्नै मुस्किल

केशव

फाल्गुन १०, २०८१

share this:

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खोरमा सातवटा बाघ पालिएका छन् । ती बाघलाई दैनिक पाँच किलो मासु खुवाउनुपर्ने हुन्छ । कार्यालयको वार्षिक बजेटले दुई महिना मात्रै पुग्ने गर्दछ ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार चालु आर्थिक वर्षमा बाघको आहारका लागि चार लाख ३८ हजार रुपैयाँ बजेट निकासा भएको छ । एक महिनामा सातवटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाख दुई हजार ५०० रुपैयाँ खर्च हुन्छ । साउन र भदौको मासुको भुक्तानी भएको भए पनि त्यसयताको भुक्तानी हुन सकेको छैन ।

बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि भुक्तानी गर्न नसकिएको उनले जानकारी दिए । निकुञ्जको कसरामा तीन, देवनगरमा दुई र सौराहामा दुई बाघ खोरमा छन् । झन्डै दुई महिनाअघि माडीमा नियन्त्रणमा लिइएको बाघलाई राख्ने ठाउँ नभएर पर्सा पठाइएको थियो ।

उनले भने, “हामीसँग खोरमा राखिएका बाघको आहारा र आवश्यक परेमा नियन्त्रणमा लिएर थप बाघ राख्ने ठाउँ छैन ।” बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघ थपिँदै जाने हुँदा समस्या भएको उनले बताए । थप बजेटका लागि निकुञ्जले विभागमा पत्राचार गर्ने तयारी गरेको छ ।

बाघ हिंस्रक बनेमा नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा बयस्क १२८ बाघ रहेका छन् ।