पौष २९ गतेदेखि खिचरा महोत्सव, मुख्यमन्त्रीले उद्घाटन गर्ने
खैरहनी । पूर्वी चितवनको खैरहनीमा यही पौष २९ गतेबाट सुरू हुने दसौँ खिचरा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ ।
महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गर्ने महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए ।
थारु समुदायको महान् पर्व माघीको अवसर पारेर हरेक वर्ष खैरहनी वडा नं ५ गौचरणमा खिचरा महोत्सव हुँदै आएको छ । थारु संस्कृति जोगाउन आयोजना गरिदै आएको खिचरा महोत्सव पछिल्लो समय साझा सम्पतीको रुपमा विकास भएको संयोजक चौधरीले बताए ।
१५० वटा स्टल रहने सो महोत्सव परिसरमा थारु समुदायको परम्परागत खाना घोँगी, चिचर र कृषि उत्पादनमा थारु समुदायले प्रयोग गर्ने हलगोरुको प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । माघ ७ गतेसम्म चल्ने महोत्सवमा थारु समुदायका परम्परागत खानाका परिकारको प्रवर्द्धनमा जोड दिइएको छ । “राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मूल नाराका साथ आयोजना हुने यस वर्षको खिचरा महोत्सवलाई सभ्य, भव्य र सफलतापूवर्क सम्पन्न गर्नका लागि २० वटा विभिन्न समितिहरु गठन गरिएको छ ।
चितवन जिल्लाकै पहिलो सांस्कृतिक एवं व्यापारिक महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवको आफ्नै विशेषता र महत्त्व रहेको आयोजक संस्थाका पूर्वअध्यक्ष नारायण महतोले खिचरा महोत्सव थारु समुदायको कला, संस्कृति, भेषभूषा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण ब्राण्ड बनेको बताए । महोत्सवलाई चितवनवासी थारु समुदायले मात्र नभई देशभर रहेका थारु समुदायले नै गर्वको रुपमा लिने गरेको भन्दै उनले थारु समुदायको सांस्कृतिक वर्ष, भेषभूषा, भाषाको संस्कृतिको संरक्षण गर्नु प्रमुख उद्देश्य रहेको बताए ।
खिचरा महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीयस्तरमा उत्पादित बस्तुको प्रवर्द्धन गराउन १५० वटा स्टल रहने छ । यस्तै, महोत्सवका स्टलहरुमा थारु जातिका साथ–साथै विभिन्न जातिका खानाका परिकारहरु रहने छन् । यस्तै शैक्षिक, वित्तीय संस्था, विभिन्न संघसंस्थाहरुको स्टलहरुसमेत रहने छन् । महोत्सवमा थारु समुदायको ब्रह्मवान, परेवाको घर, परम्परागत सामग्रीहरुसहितको बारु मिनी गाउँ परिसर, घोँगी र पोकाको विशाल प्रतिमा प्रदर्शनीमा रहने छ । थारु समुदायको मुख्य परिरकार घोँगी र चिचरको विशाल आकृति सबैको आकर्षणको केन्द्र बन्ने गरेको छ ।
महोत्सवमा विभिन्न जातजातिका परम्परागत भेषभूषासहित सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । पत्रकार सम्मेलनका प्रमुुखअतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य वासुुदेव चौधरीले थारु समुदायको अस्तित्व जोगाउन महोत्सव आयोजना गरिएको बताए ।
नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवर्द्धकको रहेको सो महोत्सवको संरक्षकमा खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा, जिल्ला कार्यसमिति चितवन रहेका छन् । आयोजक संस्थाका सचिव सुनिल चौधरीले सञ्चालन गरेको कार्यक्रममा थाकसकी केन्द्रीय पार्षद् चन्द्राकुमारी चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।