स्वास्थ्यकर्मीहरुका लागि क्षयरोग मोडुलर रिफ्रेसर तालिम

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि क्षयरोग मोडुलर रिफ्रेसर तालिम बकुलहर रत्ननगर अस्पतालमा सुरू भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ट अधिकृत टिबी फोकल पर्सन जयराम दुवाडीले नेपालमा प्रिभिलेन्स सर्भेअनुसार प्रतिलाख २२९ जना क्षयरोगका बिरामी पत्ता लगाउनुपर्नेमा सो लक्ष्य पूरा हुन नसकेकोले अब बिरामी खोज्न प्रयास गर्नुपर्ने चुनौती रहेको बताए । उनले पत्ता लगाएका बिरामीलाई उपचारको दायरामा ल्याउन, पत्ता लागेका बिरामीलाई निगरानीका साथ औषधि खुवाउन आवश्यक रहेको बताए ।
पछिल्लो समय एमडिआर (मल्टिपल ड्रग रेजिस्ट्यान्ट) टिबी बढ्दो क्रममा रहेकाले स्वास्थ्यकर्मी सङ्क्रमित हुने जोखिमबारे सचेत हुनुपर्ने अवस्था आएको बताए । एमडिआर टिबी भएका व्यक्तिले बर्सेनि २५ जनासम्मलाई रोग सार्न सक्ने भएकाले स्वास्थ्यकर्मीहरु जोगिएर बिरामीको व्यवस्थापन गर्नसमेत उनले सुझाव दिए ।
स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले रत्ननगर नगरपालिकामा प्रिभिलेन्स सर्भेको प्रोटोकलअनुसार २२० जना क्षयरोगका बिरामी पत्ता लाग्नुपर्नेमा यस आर्थिक वर्षमा १०१ जना बिरामी पत्ता लागेको जानकारी दिए । क्षयरोग अभियानअन्तर्गत स्क्रिनिङ क्याम्पबाट चार जनामा क्षयरोगका बिरामी पत्ता लागेकोले समुदायमा लुकेर रहेका धेरै बिरामी पत्ता लगाएर उपचारको दायरामा ल्याउन अभियान जारी रहेको उनले बताए ।
रत्ननगरका १६ वटै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षक जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ट अधिकृत जयराम दुवाडी र जापान–नेपाल हेल्थ एन्ड ट्युबरक्युलोसिस रिसर्च एसोसिएसन (जन्त्र)का जिल्ला कार्यक्रम संयोजक सन्दीप रावलले क्षयरोगको आगामी योजना, चुनौती र सतर्कताका विषयमा प्रशिक्षण दिनेछन् । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका क्षयरोग संयोजक आशिका घिमिरेले गरेकी थिइन् ।