नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका-९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने र्सिजना खनाल तामाङ घिसिङ र नुवाकोट बेलकोटगढी नगरपालिका-४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपाली रहेका छन् ।
काठमाडौँ महानगरपालिका-७ स्थित स्वागतम् रेस्टुरेन्ट एण्ड बारमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार सञ्चालक उनीहरूलाई पक्राउ गरेको हो । साथै, पीडित बालिकाको पनि उद्धार गरिएको छ ।
उनीहरूले नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेस्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृत्तिमा लगाई दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।