प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो

केशव

साउन १८, २०८१

share this:

चितवन । बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको संख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट दुई लाख ५४ हजार आठ सय ३० जना बिरामीले सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या दुई लाख चार हजार पाँच सय छ र आव २०७८/७९ मा एक लाख ५२ हजार पाँच सय २७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको संख्या थपिँदै गएको उनले जानकारी दिए ।

अस्पतालमा गत आवमा बहिरङ्ग विभागबाट दुई लाख ४६ हजार सात सय २३, आव २०७९/८० मा दुई लाख तीन हजार एक सय १०, आव २०७८/७९ मा एक लाख ४२ हजार आठ सय आठ र आव २०७७/७८ मा ८५ हजार पाँच सय ५२ जनाले सेवा लिएका ज्ञवालीले बताए । अस्पतालमा आकस्मिक सेवा लिनको सङ्ख्या पनि बढ्दै गएको उनले उल्लेख गरे ।
मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञवालीका अनुसार गत आवमा १८ हजार एक सय सात जनाले आकस्मिक सेवा लिएका छन् । आव २०७९/८० मा १३ हजार ९७, आव २०७८/७९ मा नौ हजार सात सय १९ र आव २०७७÷७८ मा पाँच हजार चार सय १४ ले आकस्मिक सेवा लिएका उनले जानकारी दिए ।

प्रयोगशाला र रेडियोलोजी सेवा लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा एक लाख पाँच हजार २१ जनाले प्रयोगशाला र रेडियोलोजी सेवा लिएका छन् । यो सेवा लिनेको सङ्ख्या आव २०७९/८० मा ९८ हजार चार सय २४, आव २०७८/७९ मा ४४ हजार सात सय ८४ र २०७७/७८ मा ३३ हजार एक सय १२ थियो ।

अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको सङ्ख्या गत आवमा तीन हजार नौ सय ८०, आव २०७९/८० मा तीन हजार आठ सय ५९ र आव २०७८/७९ मा दुई हजार तीन सय १४ थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञवालीले अहिले पनि पर्याप्त स्थान नभएकाले भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भइरहेको बताए । पछिल्ला वर्षमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको बताउँदै सेवालाई थप प्रभावकारी बनाउन सङ्घीय र प्रदेश सरकारले नीतिगत तहबाटै सुधारका योजना बनाउनुपर्नेमा डा. ज्ञवालीले जोड दिए ।

अस्पताललाई गत आर्थिक वर्षदेखि सरकारले एक सय शैयाको स्वीकृत प्रदान गरेको बताउँदै ज्ञवालीले अहिले ९० शैया सञ्चालन भएरहेको जानकारी दिए । पाँच शैयाको सघन उपचार कक्ष र आठ शैयाको बालसघन उपचार कक्षका लागि छुट्याइएको उनले उल्लेख गरे ।

अस्पतालमा विशेषज्ञ चिकित्सक २५, दन्त चिकित्सक चार, मेडिकल अधिकृत १७ सहित दुई सय ४० जना जनशक्तिले सेवा दिइरहेका डा.ज्ञवालीले जानकारी दिए । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिँदै आइएको बताउँदै पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मृर्गौलाको डायलासिस उपकरण अभावमा बिरामीले धेरै समय कुर्नु परिरहेकाले समस्या भइरहेको उनको भनाइ छ ।
पछिल्ला दिनमा बिरामीको सङ्ख्या वृद्धि भएसँगै शैया, शल्यक्रिया कक्ष, फार्मेसीको सुदृढीकरण गर्ने तयारी गरिरहेको डा. ज्ञवालीले बताए । उनका अनुसार मातृ शिशु भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

अस्पतालमा ८० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउने गर्दछन् । मुख्यगरी पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिकाका बिरामी आउने यस अस्पतालमा मकवानपुर, धादिङ, नवलपरासी र भरतपुरबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

विशेषगरी छालासम्बन्धी समस्या भएका बिरामी बढी आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञवालीले जानकारी दिए । यहाँबाट मेडिसिन, सर्जिकल, छाला, बालबालिका, नाक–कान–घाँटी, मनोरोग, हार्डजोर्नी, प्रसूति तथा स्त्री, दन्त चिकित्सालगायत सेवा प्रदान हुँदै आएको छ ।

क्यान्सर अस्पतालमा प्रयोगशालाको नतिजा स्वचालित मेसिनबाट

बिरामी र बिरामीका आफन्तले अस्पतालको प्रयोगशालाको नतिजा लिन लामो लाइन बस्नुपर्ने बाध्यता हटेको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा स्वचालित मेसिनबाट प्रयोगशालाको नजिता (ल्याब रिपोर्ट) दिन थालेपछि बिरामी, कुरुवा तथा आफन्तलाई नतिजा लिन लामो लाईन बस्नु पर्ने बाध्यता हटेको हो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा प्रयोगशाला रिपोर्ट दिने स्वचालित मेसिन जडान भएपछि लामो लाइनमा बसेर रिपोर्ट लिनुपर्ने बाध्यता हटेको बताए । मेसिनमा रहेको ‘क्युआर स्क्यानर’मा सेवाग्राहीले आफ्नो बिलमा रहेको बारकोड देखाएपछि मेसिनबाट स्वचालित रूपमा सम्बन्धित व्यक्तिको रिपोर्ट प्रिन्ट भएर आउने उनले जानकारी दिए ।

यसअघि अस्पतालमा बिहान रगत जाँच गर्न दिएपछि दिउँसो २ बजे पछि प्रयोगशालाको रिपोर्ट दिइँदै आइएको थियो । यसअघि रिर्पोट लिन लामो लाइन बस्नुपर्नेमा अहिले स्वचालित मेसिनबाट सहज सेवा प्रवाह भइरहेको सेवाग्राही बताउँछन् ।

“अब बिलमा भएको बारकोड स्क्यान गरेपछि तयार भएको रिपोर्ट आफैँले प्रिन्ट निकालेर सहज रुपमा लिन सकिन्छ । प्रयोगशाको रिपोर्ट ढिलो आउने, लाइन बस्नुपर्ने बिरामीको गुनासो अन्त्य भएको छ”, कार्यकारी निर्देशक डा पौडेलले भने । दैनिक नौ सयको हाराहारी नयाँ बिरामीले सेवा लिने गरेको भन्दै उनले प्रयोगशालामा तीन सय ५० को हाराहारीमा रगत जाँच हुने गरेको जानकारी दिए ।

यहाँ नेपालका सबै जिल्ला र भारतीय सीमा क्षेत्रबाटसमेत बिरामी उपचारका लागि आउने गर्दछन् । किमो र रेडिएसन दिनुपर्ने बिरामीले प्रत्येक पटक चिकित्सकलाई देखाउन आउँदा रगतको परीक्षण गर्नुपर्ने हुन्छ । प्रयोगशालामा अत्यधिक घुइँचो हुन थालेपछि अस्पतालले स्वचालित मेसिन जडान गरेको हो ।