चितवनमा १६८ जनामा डेंगु पुष्टि, इच्छाकामनामा ९९ जनामा सङ्क्रमण

केशव

साउन २२, २०८१

share this:

रत्ननगर । चितवनमा १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ देखि २० गतेसम्म ७३६ जनाको डेंगु परीक्षण गरिएकोमा १६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

गत चौबिस घन्टामा २० जना नयाँ सङ्क्रमित थपिएका छन् । जसमा भरतपुरका एक, खैरहनीका चार, रत्ननगरका तीन, कालिकाका एक र इच्छाकामनाका छ जना रहेका छन् । अन्य जिल्लाबाट परीक्षण गराएका पाँच जना छन् ।

भरतपुर महानगरपालिकामा हालसम्म १२ जनामा डेंगु देखिएको छ । जसमा छ पुरूष र छ महिला रहेका छन् । यस्तै, खैरहनीमा चार पुरूष, रत्ननगरमा १० पुरूष र पाँच महिला, कालिकामा एक पुरूष र एक महिला, इच्छाकामनामा ४३ पुरूष र ५६ महिला गरी ९९ जनामा डेंगुको सङ्क्रमण भएको छ । यस्तै, अन्य जिल्लाका १६ पुरूष र २० महिला गरी ३६ जना रहेका छन् ।

रत्ननगरमा १५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । बकुलहर रत्ननगर अस्पतालमा साउन १ देखि हालसम्म गरिएको परीक्षणका क्रममा १५ जनामा डेंगु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १० पुरूष र पाँच महिला रहेका छन् । पछिल्लो चौबिस घन्टामा तीन जना थप भएका छन् ।

यस्तै, बकुलहर रत्ननगर अस्पतालमा परीक्षण गराएकामध्ये चार जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जसमा रत्ननगरका दुई, कालिका र खैरहनीका एक/एक जना रहेका छन् ।

रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलका अनुसार यसवर्ष डेंगुको सङ्क्रमण बढ्न थालेको छ ।

रत्ननगरका सबै वडामा डेंगु खोज र नष्ट गर अभियान तीवरुपमा सञ्चालन गरिरहेको र पानी परिरहेका कारण डेंगुको सङ्क्रमण तीव्ररुपमा फैलिन नपाएको उनले बताए । सङ्क्रमण बढ्न सक्ने सम्भावित क्षेत्रहरुमा माइकिङसहित सचेतना बढाइएको उनले बताए ।

यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायःबिहान र बेलुकाको समयमा टोक्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्योङ्की, आदिमा फूल पार्ने गर्दछ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखा पर्छन् । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने जनस्वास्थ्य अधिकृत पौडेलले बताए । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु हो ।

डेंगु ज्वरो नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो । चितवन घुम्न आएका एक जापानी पर्यटकमा यो रोग पुष्टि भएको थियो । उनलाई सामान्य ज्वरो आएका कारण उपचारपश्चात् जापान फर्किएर परीक्षणका क्रममा डेंगु पुष्टि भएको थियो ।

त्यसपछि सन २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । सन् २००९ मा चितवनमा नौ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो । योसँगै आपसका जिल्लाबाट पनि ज्वरोका बिरामी उपचारका लागि चितवन आउने गरेका थिए । सन् २०१० मा तीन हजार दुई सय ९८ जनाको परीक्षणका क्रममा सात सय ३९ जनामा डेंगु सङ्क्रमण देखिएको थियो ।

जनस्वास्थ्य कार्यालयका अनुसार चितवनमा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो । सो अवधिमा कुल २३ हजार आठ सय ४० जनाको परीक्षण गरिएको थियो ।