भद्रकाली माविका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

केशव

असार २१, २०८२

share this:

रत्ननगर । रत्ननगर–१६ मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भद्रकाली माविले एसइई–२०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई एक समारोहबीच बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।

रत्ननगरमा पैसाकै कारण शिक्षा पाउनबाट कोही वञ्चित हुन नपर्ने कार्यक्रमका प्रमुखअतिथि सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं बताए ।

पछिल्लोपटक समग्र रत्ननगरको सामुदायिक विद्यालयको नतिजा सकारात्मक रहेको उनले बताए । शिक्षामा राज्यले धेरै लगानी गरेको बताउँदै उनले शतप्रतिशत नतिजा ल्याउने गरी लगनशील भएर लाग्न विद्यार्थी, अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे ।

वडामा रहेको एकमात्र सामुदायिक विद्यालय भद्रकालीमा एसइई परीक्षामा नियमिततर्फका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्रधानाध्यापक चिरञ्जीवी खनालले बताए ।

रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापाले आगामी दिनमा अझै बढी शैक्षिक प्रगति गर्नेतर्फ लाग्न सरोकारवाला सबैसँग आग्रह गर्दै यस वर्ष विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि तीन करोड बजेट परेको र भद्रकालीलाई नमुना बनाउन वडाका तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षा अधिकृत रविना देउजा, नगरशिक्षा समिति सदस्य एवम् पिठुवा सामुदायिक सेवाकेन्द्रका अध्यक्ष नेत्रप्रसाद घिमिरे, पिठुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

शिक्षक सुस्मिता पाण्डे भट्टले सञ्चालन गरेको कार्यक्रममा पूर्वविद्यार्थी डा. दिवाकर बोहरा र शतप्रतिशत उत्तीर्ण गराउन सफल विषयगत शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।