चितवन महोत्सवको तयारी तीव्र, पुस २५ गतेदेखि सुरू हुँदै
चितवन । १५औँ संस्करणको चितवन महोत्सव पुस २५ गतेदेखि सुरू हुँदै छ । आयोजक उद्योग वाणिज्य संघ–चितवनले महोत्सवको तयारी तीव्र पारेको छ ।
नारायणी नदीकिनारमा हुने चितवन महोत्सव जिल्लाकै ठूलो र पुरानो महोत्सव हो । यसपटक करिब पाँच लाख जनाले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । माघ १० गतेसम्म चल्ने महोत्सवमा करिब ४५० वटा स्टल रहने छन् । स्टल बुकिङ सकिएको संघले बताएको छ ।
उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष नारायण प्रधानले जिल्लामा महोत्सवहरु हुनु सकारात्मक भएको बताए । ‘महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने नै छ, यसबाट व्यवसायीहरुलाई पक्कै फाइदा हुने छ’, उनी भन्छन्, ‘चितवन महोत्सवको त झन् आफ्नै ब्रान्ड छ, महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइनेछ ।’ महोत्सवमा चीनको व्यावसायिक ग्रुपले मात्रै २० वटा स्टल बुक गरेको उनले बताए । स्वदेशी उत्पादनका स्टलहरुलाई विशेष सहुलियत दिइएको संघले जनाएको छ ।
स्वदेशी साना उद्योगीहरुका लागि उद्योग तथा वाणिज्य कार्यालय चितवनले पनि महोत्सवमा १० वटा स्टल किनिदिएको छ । ती स्टलको ५० प्रतिशत भुक्तानी कार्यालयले दिनेछ भने बाँकी ५० प्रतिशत रकम महोत्सव आयोजकले छूट दिनुपर्ने गरी सम्झौता गरिएको छ । स्टल खरिद गरिदिन भनी महोत्सव आयोजकहरुले कार्यालयमा प्रस्ताव पेस गर्नुपर्छ ।
न्यूनतम मूल्यका स्टलहरुको ५० प्रतिशत भुक्तानी दिने गरी कार्यालयले सम्झौता गर्ने गरेको उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख विनोद पौडेलले बताए । ‘हामीले खरिद गरेका स्टलहरु साना उद्योगीहरु जो स्टल खरिद गर्न सक्दैनन् उनीहरुलाई उपलब्ध गराउँछौँ । स्टल लिन इच्छुक उद्योगीहरुलाई सम्पर्कमा आउन हामीले सूचना निकाल्ने गर्छाैं’, उनले भने ।
महोत्सवहरुमा साना उद्योगीहरुका लागि स्टल खरिद गरिदिनका लागि चालू आवमा पाँच लाख रूपैयाँ बजेट विनियोजन भएको थियो ।
आफ्ना उत्पादनहरुको प्रचार गर्न नसक्ने साना उद्योगीहरुका लागि मेला–महोत्सव मह¤वपूर्ण माध्यम बन्ने पौडेल बताउँछन् । ‘साना उद्योगीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्न हामीले स्टलहरु किनिदिने हो । स्टल किन्न नसक्ने स्वदेशी उद्योगीलाई महोत्सव आयोजकले पनि निश्चित प्रतिशत सहुलियत दिनुपर्छ ।’
चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे महोत्सवहरु विदेशी उत्पादनहरुको झकिझकाउमा केन्द्रित हुन थालेको बताउँछन् । संघले स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धन गर्न बेला–बेलामा प्रदर्शनीहरु आयोजना गर्दै आएको बताउँदै उनले महोत्सवहरुले पनि स्वदेशी उत्पादनको प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्ने बताए ।
‘महोत्सवहरुमा विभिन्न स्वदेशी वस्तु तथा सेवाका स्टलहरु न्यूनतम यतिको संख्यामा हुनुपर्ने भनेर तोकिनुपर्छ । महोत्सवहरु जति प्रवद्र्धनात्मक हुनुपर्ने थियो त्यही हुन सकेनन् ।’