प्रजातन्त्र दिवसका अवसरमा बृहत् साइकल र्‍याली

केशव

फाल्गुन ८, २०८१

share this:

भरतपुर । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ को अवसरमा भरतपुरमा बृहत् साइकल र्‍यालीको आयोजना गरिएको छ ।

भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनको आयोजना, चितवन साइकल राइडर्स क्लबको प्राविधिक सहयोग तथा डिआर साइकल स्टोर्स नारायणगढको मर्मत सम्भार सौजन्यता, रोटरी क्लब अफ चितवन र नेपाल पत्रकार महासंघ चितवन शाखाको सहकार्यमा बृहत् साइकल र्‍यालीको आयोजना गरिएको हो ।

साइकल सस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्यका लागि साइकल भन्ने मूलनाराका साथ आयोजना गरिएको कार्यक्रममार्फत वातावरण संरक्षणप्रति समुदायमा सचेतना जगाउने उद्देश्य रहेको कार्यक्रम संयोजक डा. दीपेन्द्र न्यौपानेले जानकारी दिए ।

भरतपुर अस्पतालबाट सुरू भएको सो र्‍याली वाइपासरोड हुँदै पवित्र धार्मिकस्थल देवघाट पुगेर फर्किएपछि भरतपुरको चौबिसकोठीमा आएर समापन भएको थियो ।

कुल १२५ जना साइकल राइडर्सको सहभागिता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, भरतपुर अस्पतालका मेसु डा. कृष्णप्रसाद पौडेल, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजु पौडेल, अस्पतालका म्यानेजर डा. विज्ञान पौडेल, रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्मा, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुली, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँलगायतले मन्तव्य राखेका थिए ।

र्‍यालीको प्राविधिक संयोजन चितवन साइकल राइडर्स क्लबले गरेको थियो ।