क्यान्सरपीडित पत्रकार बानियाँलाई समाजसेवी भट्टको सहयोग

केशव

फाल्गुन १२, २०८१

share this:

भरतपुर । ब्रेन क्यान्सरबाट पीडित चितवनका पत्रकार सङ्गीता बानियाँलाई उपचारको लागि समाजसेवी नन्दप्रसाद भट्टले आर्थिक सहयोग गरेका छन् । आइतबार भरतपुर–१६ स्थित बानियाँकै निवासमा पुगेर समाजसेवी भट्टले १२ हजार १५० रुपैयाँ सहयोग गरेका हुन् ।

नगद हस्तान्तरणपछि प्रतिक्रिया दिँदै सोही वडाका भट्टले उपचारका लागि बानियाँको आर्थिक अभाव भएको थाहा पाएसँगै सहयोग गर्न निवासमा पुगेको बताए । ‘मैले आफ्नै वडामा पत्रकार बहिनीको उपचारको लागि आर्थिक सङ्कलन भइरहेको थाहा पाएँ’, भट्टले भने, ‘यो मेरो दायित्व र मानवधर्म पनि हो, अरुका लागि सहयोग गर्ने प्रेरणा होस् भन्ने पनि हो ।’

२० वर्षअघिदेखि विभिन्न संस्था, व्यक्ति, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका शिक्षाप्रेमी भट्टले आगामी दिनमा पनि पत्रकार बानियाँको लागि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । ‘यो मेरो पहिलो चरणको सहयोग हो’, भट्टले भने, ‘देश–विदेशमा रहेका मनकारी मनलाई सहयोग गर्नसमेत आग्रह गर्दछु ।’

सो अवसरमा अनुरोध गर्दै क्यान्सरपीडित बानियाँले उपचारको लागि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुपर्ने भएकोले सहयोगको लागि अपिल गरेको बताइन् । उनले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् । उनले प्रत्यक्ष भेटेर वा आफ्नै ग्लोबल आइएमईको खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिनसमेत अनुरोध गरेकी छन् ।

दुई वर्षअघिदेखि क्यान्सर रोगपीडित बानियाँलाई सुरूवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरूपमा निको भए पनि पुनः ब्रेनमा क्यान्सर देखिएको हो । बानियाँको उपचारमा यसअघि ४० लाख रुपैयाँ खर्च भइसकेको छ भने ब्रेन क्यान्सर उपचारमा थप ४० लाख रुपैयाँ लाग्ने चिकित्सकले बताएका छन् ।

बानियाँको उपचारमा आर्थिक सहयोग सङ्कलनका लागि सामाजिक अभियान्ता विदूर केसीको नेतृत्वमा आठ सदस्यीय अभियान समिति गठन भइसकेको छ ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीको अध्यक्षतामा बसेको सर्वपक्षीय उपस्थितिमा ‘क्यान्सरपीडित पत्रकार सङ्गीता बानियाँ सिलवाल बचाउ अभियान’ गठन गरेर आर्थिक सङ्कलनलाई तीव्र पारिएको छ । बानियांँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत थिइन् ।