सपना स्कुलको सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस

रत्ननगर । पूर्वी चितवनको रत्ननगर–७, सौराहामा रहेको सपना स्कुलको सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षा पुरी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरशिक्षा अधिकारी नारायण वाग्लेले सपना स्कुल अन्य विद्यालयभन्दा फरक रहेको र केबल किताबी शिक्षा मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्दै आएको बताए ।
यस्तै, कार्यक्रममा सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष एवं विद्यालयका संरक्षक ध्रुव गिरीले विद्यालयको “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो” भन्ने मूल नारालाई अगाडि सार्दै अभिभावक र समाजको भविष्य बालबालिकाको उज्ज्वल भविष्यसँग प्रत्यक्षरूपमा जोडिएको बताए । उनले भने, “बच्चाहरूको भविष्य राम्रो भयो भने मात्रै हामी गर्व गर्न सक्छौँ । उनीहरू सक्षम, शिक्षित र संस्कारी भएमात्र समाजको भविष्य उज्ज्वल बन्छ ।”
कार्यक्रममा विशिष्टअतिथि रत्ननगर–७ का वडाध्यक्ष सजना महतोले सपना स्कुलले किताबी ज्ञानमात्र नभई विद्यार्थीहरूलाई सही संस्कार सिकाउँदै थप जिम्मेवार नागरिक बनाउने कार्य गरिरहेको भन्दै विद्यालयको प्रयासको उच्च प्रशंसा गरे । उनले सपना स्कुलको शिक्षण पद्धति र समाजमा पु¥याउँदै आएको सकारात्मक प्रभाव मह¤वपूर्ण रहेको भन्दै भविष्यमा पनि यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत, नृत्य, गायन तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावकतर्फ सुमन क्षेत्रीले आफ्नो मन्तव्य राखेका थिए । उनले सपना स्कुलमा आफ्ना बच्चा पढाउन पाएकोमा गर्व महसुस गरेको बताए । उनले सपना स्कुलले विद्यार्थीहरूलाई जिम्मेवार, संस्कारी र ज्ञानयुक्त बनाउने शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै विद्यालयप्रति आभार व्यक्त गरे ।
सपना भिलेज सोसल इम्प्याक्टको मातहतमा सञ्चालित सो विद्यालयले विगत लामो समयदेखि विद्यार्थीहरूलाई जीवन उपयोगी सीप र नैतिक मूल्य सिकाउने संस्कारयुक्त शिक्षा प्रदान गर्ने उल्लेखनीय कार्य गरिरहेको छ ।
कार्यक्रममा सभाध्यक्ष वर्षा पुरी गिरीले उपस्थित सम्पूर्ण अतिथि, शिक्षक, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिन् । उनले शिक्षक र अभिभावकहरूको अथक प्रयासकै कारण सपना स्कुल आज यो स्थानमा आइपुगेको बताइन् । उनले सपना भिलेज सोसल इम्प्याक्टको विद्यालयप्रतिको निरन्तर सहयोगको पनि चर्चा गर्नुका साथै विद्यालयलाई हरेक चरणमा साथ दिँदै आएकोमा सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीलाई विशेष धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक सूर्यप्रसाद लामिछाने, सपना भिलेज सोसल इम्प्याक्टका कार्यक्रम प्रमुख सुजन बस्नेत, रत्ननगर–७ का वडा सदस्य माइली सुनार, विद्यालयका संयोजक रोशनी तामाङलगायतको उपस्थिति रहेको थियो ।
विसं २०७३ सालमा स्थापित सो विद्यालयमा मन्टेश्वरी विधिबाट शिक्षण हुँदै आएको छ । कक्षा १ सम्म अध्यापन हुने सो विद्यालयमा हाल पाँच शिक्षक र तीन जना कर्मचारी कार्यरत रहेका छन् ।