भारत सरकारको सहयोगमा बछौली माविमा प्राविधिक भवन शिलान्यास

केशव

चैत्र १८, २०८१

share this:

रत्ननगर । नेपाल–भारत विकास सहकार्यअन्तर्गत रत्ननगर–६ मा रहेको बछौली माविमा प्राविधिक कलेज सञ्चालनका लागि भवन निर्माण शिलान्यास गरिएको छ । १२ कोठा रहने तीनतले भवनको शिलान्यास भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना र रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले संयुक्तरूपमा गरेका हुन् ।

भवन शिलान्यासपश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीनाले भारत सरकारको तीन करोड रुपैयाँ बढी लागत साझेदारीमा विद्यालय भवन निर्माण हुन लागेको र यसले बछौली माविको शैक्षिक उन्नयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भारत सरकारले सामुदायिक विकास परियोजना (एचआइसिडिपिएस)अन्तर्गत स्कुल, कलेज, अस्पताल, स्वास्थ्यचौकी, पुस्तकालय, नदी तटबन्ध, एम्बुलेन्स, स्कुल बसजस्ता सहयोग परियोजनाहरु उपहारस्वरुप प्रदान गर्दै आएको जानकारी दिए ।

नेपाल–भारतबीच निकटतम छिमेकीको सम्बन्ध रहिआएको र दुवै राष्ट्रबीच प्राचीनकालदेखि नै सामाजिक, सांस्कृतिक, धार्मिक समानता र बहुआयामिक सुसम्बन्ध कायम रहेको बताउँदै महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारहरुको विस्तार गरी नेपाली जनताको समृद्धि र विकासमा भारत सरकारको निरन्तर सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना

कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले बछौली माविको भौतिक संरचनाको आवश्यकतालाई महावाणिज्य दूतावासको सहयोगले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । शिक्षा र स्वास्थ्यमा स्थानीय सरकारले लगानी गरे पनि प्रतिफल आइनसकेको बताउँदै रत्ननगर नगरपालिकाले नगरभित्र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने घोषणा गरिसकेको जानकारी दिए ।

उनले बछौली माविमा प्राविधिक शिक्षासमेत सुरू गरेको बताउँदै नयाँ भवन निर्माणबाट शैक्षिक उपलब्धि हासिल गर्न सहयोग पुग्ने बताए । आगामी दिनमा महावाणिज्य दूतावाससँग सहकार्य गर्दै अगाडि जान तयार रहेको उनको भनाइ थियो ।

बछौली माविका प्रधानाध्यापक शिवराम मरहट्ठाले स्वागत मन्तव्य तथा अङ्ग्रेजी शिक्षक बुद्धिसेन चौधरीले सञ्चालन गरेको कार्यक्रममा रत्ननगर–६ का वडाध्यक्ष किरण चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले विद्यालय भवन निर्माणमा सहयोग गर्ने भारत सरकार तथा डिपिआर निर्माणदेखि नै सहकार्य गर्ने राजनीतिक दलहरु, नगरप्रमुख तथा कार्यपालिकाहरु र प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालप्रति आभार व्यक्त गरे । कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य एवम् विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तीनतले भवन, मञ्च, सरस्वती मन्दिर र शौचालय गरी चारवटा संरचना निर्माणको लागि माँ भवानी ए.एल.एजे जय शम्भु जेभीसँग २०८३ साउन २५ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी गत फागुन २५ गते भ्याटसहित ३ करोड ४९ लाख ३१ हजार ६८० रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता भएको रत्ननगर नगरपालिकाका प्राविधिक शाखा प्रमुख निमित्त डिभिजन इन्जिनियर कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । भवन निर्माणको लागि ८० प्रतिशत भारत सरकारको र २० प्रतिशत रत्ननगर नगरपालिकाको रहने छ ।

भवन निर्माणका लागि नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ३ करोड ५० लाख रुपैयाँ, रत्ननगर नगरपालिकाको ४० लाख रुपैयाँ र बछौली माविको ३० लाख रुपैयाँको लागत साझेदारी रहने प्रमुख कार्यकारी अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।

सन् २००३ देखि भारत सरकारले नेपालका ५६३ बढी परियोजनामा सहकार्य गर्दै आएको छ । जसमध्ये ४९५ वटा परियोजना सम्पन्न भइसकेका छन् । बागमती प्रदेशमा १०८ परियोजनामध्ये चितवनका १० वटा छन् । यसबाहेक भारत सरकारले नेपालका अस्पताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थाहरुमा एक हजार ९ एम्बुलेन्स, ३०० स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । जसमा चितवनमा मात्रै १७ एम्बुलेन्स र ५ स्कुल बस प्रदान गरिएको वाणिज्यदूत तरुण कुमारले जानकारी दिए ।

सन् १९६२ मा स्थापना भएको बछौली माविमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । यहाँ ६५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले सिटिइभिटीसँग सम्बन्धन प्राप्त होटल म्यानेजमेन्टमा डिप्लोमा कोर्ष पनि सञ्चालन गर्दै आएको छ ।