रत्ननगर–३ मा गर्भवतीहरुको स्वास्थ्य परीक्षण तथा पोषण सामग्री वितरण

केशव

बैशाख ३, २०८२

share this:

रत्ननगर । रत्ननगर–३ वडा कार्यालयको आयोजना एवम् आधारभूत स्वास्थ्यकेन्द्र रत्ननगर–३ को समन्वयमा सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत गर्भवती महिलाहरुको लागि पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुखअतिथि रत्ननगर–३ वडाध्यक्ष सोहेन्द्रराज खरेल वडामा सुरक्षित मातृत्वका लागि आधारभूत स्वास्थ्यकेन्द्रसँग समन्वय गरी गर्भवती महिलालाई आवश्यक पर्ने पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको बताए ।

एउटी गर्भवती आमाले सुत्केरी नभएसम्म आठपटक परीक्षण गर्नुपर्ने भएकाले वडाबाटै गर्भवतीलाई भिडियो एक्सरे, मुटु जाँच अन्य परीक्षण र ल्याबसेवा प्रदान गरिएको जानकारी दिए । गर्भवती अवस्थामा आवश्यक पर्ने पोषण सामग्रीको प्रतीकात्मकरूपमा वडाबाट वितरण गरिएको र हरेक परिवारले गर्भवती अवस्थामा पोषणयुक्त खानेकुरा खुवाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका स्वास्थ्य संयोजक एवम् वडा सदस्य शिव खनालको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले नगरप्रमुख प्रलाद सापकोटाको पहलमा चुनावमा गरेको प्रतिबद्धताअनुरुप १६ वटै वडामा गतेअनुसार हरेक महिना गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे मुटु जाँच अन्य परीक्षण र ल्याबसेवा सञ्चालन गर्दै आएको बताए ।

कुनै पनि गर्भवती महिला अस्पतालसम्म पुग्न नपरोस् भनेर बिदाको दिनमा समेत सो अभियान जारी रहेको र नर्सिङ शाखा प्रमुख अम्बिका पौडेलसहितको प्राविधिक टोलीले सो सेवा सञ्चालन गर्दै आएको जानकारी दिए ।

वडा सदस्य ईश्वर जमरकट्टेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा रत्ननगर–३ का आधारभूत स्वास्थ्यकेन्द्र प्रमुख निर्दोषी घिमिरे, नर्सिङ शाखा प्रमुख अम्बिका पौडेल, स्वास्थ्यकर्मीहरु, सामुदायिक स्वास्थ्य महिला स्वयंसेविकाहरु, जनप्रतिनिधि तथा सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरे, इसिजी तथा अन्य परीक्षण गरिनुका साथै पोषण तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको थियो ।