रेबिजका कारण वृद्धको मृत्यु भएपछि संयुक्त अनुगमन

रत्ननगर । रत्ननगरमा रेबिज सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । रत्ननगर–१६, खैरेटीका ७२ वर्षीय दिगम्बर श्रेष्ठको सोमबार टेकु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
श्रेष्ठ परिवारका अनुसार गत माघ महिनामा घरमै पालिएको तीन महिनाको कुकुरले दिगम्बरसँगै परिवारका सदस्यहरु र अन्य छिमेकी गरी ६ जनालाई कुकुरले टोकेको थियो । परिवारका सदस्य र छिमेकीले रेबिजविरुद्धको सुई लगाएका थिए । तर, ७२ वर्षको उमेरसम्म एउटा सिटामोलसमेत नखाएका दिगम्बरले सुई लगाउन मानेनन् । तीन महिनाको छाउरो कुकुरले टोक्दा बिष लाग्दैन भन्ने मान्यता बोकेका दिगम्बरलाई परिवारका सदस्य र स्वास्थ्यकर्मीले समेत सुई लगाउन आग्रह गरे पनि उनले मानेनन् ।
अन्ततः सुई लगाएकाहरुलाई केही भएन । दिगम्बर बिरामी परे । चितवन मेडिकल कलेजमा उपचार गर्दा पनि रोगको निदान भएन । डाक्टरले रोगको लक्षण पत्ता लगाउन नसकेपछि दिगम्बरकी श्रीमती रिता श्रेष्ठले माघमा कुकुरले टोकेको बताइन् । त्यसपछि सिएमसीले यहाँ उपचार सम्भव नभएको भन्दै टेकु अस्पताल रेफर गरिदियो ।
दिगम्बरका छोरा अर्पण श्रेष्ठ भन्छन्, ‘उहाँलाई प्यास लाग्ने तर पानी निल्न गाह्रो भएको थियो । अन्य लक्षण देखिएको थिएन । एक्कासि रेबिजको सङ्क्रमण पत्ता लाग्यो । बुबालाई बचाउन सकेनौँ ।’
रत्ननगर–१६, खैरेटीस्थित सातकन्या खानेपानी उपभोक्ता समितिका कार्यालय सचिव थिए दिगम्बर । चार छोरामध्ये दुई जना विदेशमा छन् । शिक्षित र जानेबुझेका परिवार भए पनि सानो हेलचेक्र्याइँले उनको अकालमा ज्यान गयो । यस घटनाले श्रेष्ठ परिवार, वडावासी र स्वास्थ्य सरोकारवालालाई चिन्तित तुल्याएको छ । रेबिजकै कारण इच्छाकामनामा एक र खैरहनीमा एक जनाको मृत्यु भएको छ ।
सो घटनापश्चात् रत्ननगर–१६ का अध्यक्ष हेमराज थापा, स्वास्थ्य शाखाका प्रमुख माधवप्रसाद पौडेल र पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्मा श्रेष्ठको घरपरिवारमा पुगेर अनुगमन तथा घटनाको बारेमा जानकारी लिएका थिए ।
अनुगमनका क्रममा रत्ननगर–१६, खैरेटी क्षेत्रमा स्याल र कुकुरको जोखिम रहेको पाइएको थियो । रत्ननगर–१६ का अध्यक्ष हेमराज थापाले स्थानीयवासीलाई स्वास्थ्य सचेतनासँगै घरपालुवा कुकुर र भुस्याहा कुकुरको खोजी गरी भ्याक्सिन कार्यक्रम सञ्चालन गर्ने बताए ।
यस्तै, जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले पशु शाखासँग समन्वय गरी भुस्याहा कुकुरको बन्ध्याकरण गर्न सहजीकरण गर्ने बताए ।
यस्तै, पिठुवा स्वास्थ्यचौकीका प्रमुख नरहरि श्याम शर्माले कुकुर पाल्ने परिवारले कुकुरलाई घर बाहिर नछाड्न र सुई लगाएको घर पालुवा कुकुरले टोके पनि रेबिजविरुद्धको भ्याक्सिन लगाउन आग्रह गरे ।