जेनेटिक रोगसम्बन्धी सरोकारवालाहरुका लागि अभिमुखीकरण

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेनेटिक रोगसम्बन्धी सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले रत्ननगरका सबै स्वास्थ्य संस्थामा २६ वटा खोप क्लिनिक सञ्चालन गरिएको र रत्ननगर–१ को खोपकेन्द्रमा हरेक हप्ताको सोमबारर मंगलबार गरी आठ दिन खोपसेवा प्रदान गरिँदै आएको बताए । उनले हरेक महिना ३४ सेसनमा खोपसेवा सञ्चालन गरी पूर्णखोप प्रदान गरिएको बताए ।
कार्यक्रममा कार्यवाहक नगरप्रमुख यादवप्रसाद पाठकले रत्ननगर पूर्णखोप सुनिश्चिताका लागि स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिँदै कुनै पनि बालबालिका खोपबाट वन्चित नहुनेगरी खोप कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले जेनेटिक रोगबारे प्रस्तुति दिँदै रत्ननगरमा रेबिज खोप नलगाएका कारण एक वृद्धको मृत्यु भएकाले घरपालुवा कुकुर, घरबाहिरको कुकुर, स्याल, बिरालो, न्याउरी मुसाजस्ता जनावरले टोकेमा टोकेको दिन, तीन दिन र सात दिन गरी रेबिजविरुद्धको खोप लगाउन आग्रह गरे ।
जनस्वास्थ्य निरीक्षक दीपेन्द्र विकले सहजीकरण गरेको कार्यक्रममा सुशासन समितिका संयोजक धीरेन्द्रप्रसाद घिमिरे, रत्ननगर–४ का वडाध्यक्ष रामकुमार चौधरी, रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेल, रत्ननगर–१३ का वडाध्यक्ष पोटबहादुर घिमिरे, रत्ननगर–१५ का वडाध्यक्ष आसिक तामाङ, कार्यपालिका सदस्यहरु राम रिमाल, यशोदा अधिकारी, सुकमाया विक, बबिताकुमारी चौधरी, रत्ननगर–१३ का वडा सदस्य शारदा न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।