सिद्धि विनायकको स्थापना दिवसमा विविध कार्यक्रम

केशव

जेष्ठ २९, २०८२

share this:

भरतपुर । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर–२, क्षेत्रपुरले बालिकालाई भोजन तथा फलफूल वितरण र ‘ज्येष्ठ सदस्य सम्मान’ कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको १८औँ स्थापना दिवसको अवसरमा बिहीबार देवघाट–५, तनहुँमा कल्याणी वैदिक कन्या गुरुकुलम्मा अध्ययनरत ३२ बालिकालाई भोजन तथा फलफूल वितरण तथा १० जना ज्येष्ठ सेयर सदस्यलाई सम्मान गरिएको संस्थाका अध्यक्ष थीरप्रसाद धितालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष धितालले स्थापना दिवसमा विभिन्न कोणबाट सहजीकरण गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

समाजको अत्यन्त विकट क्षेत्रहरुमा रहेको वृद्धाश्रम, विपन्न परिवारलगायतलाई आगामी दिनमा सहयोग गर्दै जाने उनले प्रतिबद्धता जनाए ।

सोही अवसरमा गुरुकुलम्मा आश्रित स्नेहा केसी, सरिता शाहीलगायत बालिकाहरुको समूहले स्तुति वाचन, टीका र फूलको गुच्छाले स्वागत गरेका थिए । हाल गुरुकुलम्मा गुरुआमाहरु र ३२ बालिकासहित ४५ जना रहेका छन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार भगवती पाण्डे, उपाध्यक्ष मुकुन्दप्र्रसाद गौतम, सचिव जयराम पाण्डे, सहसचिव सङ्गीता गौतम, व्यवस्थापक विकास पौडेल, सदस्यहरु नवराज अर्याल, शम्भु अर्याल, कृष्ण सिलवाल, इन्दिरा लामिछाने पन्त, सीता सापकोटा, समाजसेवी राजेन्द्र मिश्र, पत्रकार विना तामाङलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी, सिद्धि विनायक साकोसले १८औँ स्थापना दिवसको अवसरमा कार्यालय परिसरमा १८ वटा दीप प्रज्वलन गरेको छ । संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुखअतिथि शालिकराम घिमिरेले दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुखअतिथि घिमिरेले सञ्चालक समिति, सेयर सदस्यलगायत सबैको भूमिका निर्वाह जिम्मेवारीपूर्ण र सराहनीय रहेको बताए । आगामी दिनमा संस्थालाई सदस्यमुखी मात्र नभई संस्थागतरुपमा बलियो र परिस्कृत बनाउँदै लैजानुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा प्रमुखअतिथि घिमिरे, संस्थाका अध्यक्ष थीरप्रसाद धिताल, अन्य पदाधिकारी, कार्यसमिति सदस्य, सेयर सदस्यहरुलगायतले एकापासमा केट काटेर खुसियाली साटासाट गरेका थिए । कार्यक्रमको समापन गर्दै उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले संस्थागत हितका लागि अघि बढ्ने प्रतिबद्धता जनाए ।

यसैबीच, सिद्धि विनायक साकोसले संस्थामा आवद्ध १० जना ज्येष्ठ सेयर सदस्यहरुलाई ‘ज्येष्ठ सदस्य सम्मान’बाट सम्मानित गरेको गरेको छ । अध्यक्ष धितालका अनुसार ७५ वर्षमाथिका ज्येष्ठ सेयर सदस्यहरु सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा भरतपुर–२, देवकोटा चोकका पदमकुमारी देवकोटा, भरतपुर–११, बर्मेली टोलका नीरप्रसाद अधिकारी, भरतपुर–४, बेलचोकका तेजप्रसाद शर्मा, भरतपुर–७ का दीपकुमार उप्रेती, भरतपुर–१० का छमकुमारी रिजाल, भरतपुर–१२ का रेवतीप्रसाद रिमाल, भरतपुर–२, तीनखोलेका टेकबहादुर प्रधान, भरतपुर–२, बुद्ध टोलका गणेश गुरूङ, भरतपुर–१०, तालिम केन्द्रपछाडिका रामचन्द्र लामा र भरतपुर–११, गोर्खाली टोलका विष्णुमाया पाण्डे रहेका छन् ।

उनीहरुलाई दोसल्ला र नगदसहित सम्मान गरिएको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी दिए । संस्थाका पदाधिकारी तथा सदस्यहरु ज्येष्ठ सदस्य सम्मानका उनीहरुको घर–घरमै पुगेका थिए । ज्येष्ठ सेयर सदस्यको उच्च सम्मान गर्दै पहिलोपटक यो कार्यक्रम सुरू गरिएको व्यवस्थापक पौडेलले बताए ।

यसअघि बुधबार सिद्धि विनायक साकोसले सदस्य शिक्षा एवम् अन्तर्क्रिया कार्यक्रम गरेको थियो । सो कार्यक्रममा सेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।