वर्षात्सँगै रोकियो भूमिगत विद्युतीकरणको काम

केशव

असार १०, २०८२

share this:

भरतपुर । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा भइरहेको भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि तीन महिनाका लागि भूमिगत विद्युतीकरणको काम रोकिएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरणको काम गरिरहेको छ । आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम रोकिएको हो । उनले भने, “अहिले मुख्य काम पाइप गाड्ने, पाइप हाल्ने, खाल्डा खन्नेलगायतका रोकिएको छ ।” अहिले पाइप गाडिसकिएका ठाउँमा केबल जोड्ने, खम्बा गाड्नेलगायतका काम भइरहेको उनले बताए ।

सडक विभागले वर्षात्मा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने भएकाले भूमिगत विद्युतीकरणको काममा रोक लगाएको हो । उनका अनुसार सडकछेउमा खाल्डा खन्दा सडकमा पानी पस्ने, भासिनेजस्ता समस्या हुने भएकाले काम रोकिएको हो ।

आयोजनाले हालसम्म सो महानगरपालिकामा विद्युत् भूमिगतको काम ७५ प्रतिशत सम्पन्न गरेको सुवेदीले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्मको सडकमा भूमिगत गर्ने काम सम्पन्न भएको छ । बाइपास सडकमा आँपटारीदेखि केन्द्रीय बस ट्रमिनलसम्मको सडकमा एकतर्फी भूमिगतको काम सम्पन्न भएको छ भने अर्काेतर्फ भूमिगत गर्ने काम बाँकी रहेको छ ।

उनले भने, “फाउन्डेसन राख्ने काम सकिएको छ, केही ठाउँमा मुख्य लाइन जडान बाँकी रहेको छ ।” यस्तै, ३३ केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केबल राख्ने काम जारी रहेको छ ।

खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षात्पछि कामलाई तीव्र बनाइने उनले बताए । उनका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरूवाती समयमा एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको सुवेदीले बताए । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएसँगै पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ । काम थप हुँदै जाँदा समय पनि थप गरिँदै लगिएको उनले बताए । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।