रत्ननगर–१५ को सार्वजनिक सुनुवाइ : वडावासीका समस्या समाधान गर्ने प्रतिबद्धता

रत्ननगर । रत्ननगर–१५ को कार्यालयले रत्ननगरमै पहिलोपटक वडास्तरको सार्वजनिक सुनुवाइ आयोजना गरेको छ । जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच प्रत्यक्ष संवाद कायम गर्दै विकास, सेवा प्रवाह र जनमुखी कार्यक्रमबारे वडावासीको धारणा बुझ्न सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी अधिकांश सेवाग्राहीले वडा कार्यालयले प्रदान गरेको सेवा र जनमुखी कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए । साथै, उनीहरुले विकास निर्माण र सुधार गर्नुपर्ने विषयहरूका विषयमा आआफ्ना सुझाव राखे । कार्यक्रममा वडाका विभिन्न राजनीतिक दलका नेताहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति केशवबाबु घिमिरेले सार्वजनिक सुनुवाइ गर्नु नै लोकतान्त्रिक अभ्यासको लागि महत्त्वपूर्ण कदम भएको बताए । नेकपा (एमाले)का अध्यक्ष कृष्ण पन्तले रत्ननगर–१५ को विकास र समृद्धिका लागि भइरहेको प्रयत्नको उच्च प्रशंसा गरे ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष देवीप्रसाद बस्ताकोटीले वडाले गरेको सार्वजनिक सुनुवाइ ऐतिहासिक भन्दै प्रशंसा गरे । रास्वपाका सभापति हरिप्रसाद सिलवालले उपभोक्ता समिति गठन गर्दा राजनैतिक आस्था हेरिएको आरोप लगाए । उनले सूचना प्रवाहमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरे । राप्रपा वडा समितिका अध्यक्ष प्रितम पाण्डेलगायतका नेताहरूले पनि मन्तव्य राखेका थिए ।

सार्वजनिक सुनुवाइका क्रममा स्थानीय बासिन्दाहरूले समयमा कुलो निर्माण सम्पन्न नभएको, सुत्केरी तथा गर्भवती महिलाको पोषण कार्यक्रममा सहभागिता न्यून रहेको, एम्बुलेन्सको व्यवस्थापन, शैक्षिक गुणस्तर सुधारका लागि अनुगमनलगायतका विषयमा सवाल उठाएका थिए ।
सोधिएका सवालहरूको वडाध्यक्ष आशिक तामाङ, आधारभूत स्वास्थ्यकेन्द्र माधवपुरका इन्चार्ज रोजिना गिरी, पिठुवा सिंचाइका सचिव मदन भुजेललगायतले जवाफ दिएका थिए । उनीहरूले वडा कार्यालयले कुनै पूर्वाग्रह नराखी बजेटको दायराभित्र रहेर वडावासीका सरोकारका विषय समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा पूर्वजनप्रतिनिधि र व्यावसायिक पशुपालक कृषक चेतप्रसाद ढकाललाई सम्मान गरिएको थियो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापालगायतको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य इमप्रसाद पन्तले वडाको प्रतिवेदन पेस गरेका थिए भने वडा सदस्य शिवप्रसाद तिवारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सचिव नवराज तिवारी, कम्प्युटर अपरेटर शक्ति बुढाथोकी, विभिन्न दलका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।
उज्यालो नेपाल एड्भर्टाइजिङ एन्ड ब्रोडकास्टिङ प्रालिले संयोजन संयोजन गरेको कार्यक्रमको सहजीकरण रामकान्त पौडेलले गरेका थिए ।