कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा पाँच मेसिन हस्तान्तरण

रत्ननगर । रत्ननगर नगरपालिकाले कृषि यान्त्रीकरण कार्यक्रमअन्तर्गत रत्ननगर–६ का थप चार किसानलाई ५० प्रतिशत अनुदानमा पाँचवटा कृषि मेसिन प्रदान गरेको छ ।
आर्थिक वर्ष २०८१–८२ मा बागमती प्रदेश सरकारद्वारा हस्तान्तरित सशर्त अनुदानमार्फत रत्ननगर–६ का माँ भवानी कृषि तथा पशुपालन फर्म प्रालिका सञ्चालक दुर्गा अधिकारीलाई दाना बनाउने मेसिन र चापाकटर एक–एक थान प्रदान गरिएको छ ।
यस्तै, रत्ननगर–६ का लक्ष्मी एकीकृत कृषि तथा पशुपालन फर्मका सञ्चालक लक्ष्मी महतो र स्मृतिया एकीकृत कृषि फर्मका सिखन महतोलाई एक–एक थान मल्टीक्रप थ्रेसर र राममाया एकीकृत कृषि फर्मका सञ्चालक राममाया पौडेललाई एक थान कम्बाइन मिल हस्तान्तरण गरिएको छ ।
यसै, कार्यक्रमअन्तर्गत यसअघि ५० प्रतिशत अनुदानअन्तर्गत रत्ननगर–६ का माँ भवानी कृषि तथा पशुपालन फर्म प्रालिका सञ्चालक दुर्गा अधिकारीलाई ६० एचपीको फोर ह्वील ट्रयाक्टर, लक्ष्मी एकीकृत कृषि तथा पशुपालन फर्मका सञ्चालक लक्ष्मी महतोलाई ५० एचपीको टु ह्वील ट्रयाक्टर र राममाया एकीकृत कृषि फर्मका सञ्चालक राममाया पौडेललाई १५ एचपीको ट्रयाक्टर हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख प्रलाद सापकोटा, आर्थिक विकास समितिका संयोजक कलाधर पौडेल, रत्ननगर–३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, कार्यपालिका सदस्य राम रिमाल, रत्ननगर–६ का वडाध्यक्ष किरण महतो, विधायन समितिका संयोजक वीरेन्द्र महतो, कार्यपालिका सदस्य बबिताकुमारी चौधरी, वडा सदस्य गोपी विडारीले चार कृषि फर्मलाई मेसिन हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा नगरप्रमुख सापकोटाले रत्ननगर नगरपालिकाले अनुदान झोलामा नभई किसानको हात–हातमा दिँदै आएको बताए । रत्ननगर नगरपालिकाले कृषि र पशुपालन गर्ने किसानलाई विशेष प्राथमिकता दिँदै आएको र सामूहिकरुपमा व्यावसायिक कृषि तथा पशुपालन गर्ने त्यस्ता फर्म तथा व्यवसायलाई अनुदानमा यान्त्रीकरण प्रदान गरिने बताए । सामूहिकरुपमा उद्यमी बन्न चाहनेको हात–हातमा अनुदान दिइने उनको भनाइ थियो ।
उनले अनुदानको दुरुपयोग नहोस् भन्नेतर्फ आफूहरु गम्भीर रहेको बताउँदै ‘एक वडा : एक उत्पादन’को नीतिलाई सार्थक तुल्याउन नगरपालिकाले काम गरिरहेको उनले बताए ।
आर्थिक विकास समितिका संयोजक एवम् रत्ननगर–१० का वडाध्यक्ष कलाधर पौडेलले कृषि र पशुपालन पेसाप्रति गर्व गर्दै अरु किसानलाई पनि आकर्षित गराउन नगरपालिकाले कृषि र पशुपालन गर्ने व्यवसायीलाई प्रोत्साहनस्वरुप मेसिन हस्तान्तरण गरिएको बताए ।
उनले बागमती प्रदेश सरकारको सशर्त अनुदानमार्फत यसपटक रत्ननगर–६ का किसानलाई प्रदान गरिएको र आगामी दिनमा अन्य वडामा पनि व्यावसायिक किसान र समूहलाई अनुदानमा कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालन गर्ने बताए । उनले किसानहरुले अनुदानको सही सदुपयोग गरी प्रगति गरेको हेर्न आफू आतुर चाहेको बताए ।
कृषि तथा पशुपक्षी शाखाका प्रमुख कृषि विज्ञ प्रवीन लामाले बागमती प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम (सशर्त अनुदान)अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण मेसिन हस्तान्तरण गरिएको बताए । ५० प्रतिशत अनुदानअन्तर्गत रत्ननगर–६ मा वितरण गरिएको यान्त्रीकरणको कुल ८० लाख रुपैयाँमध्ये ४० लाख रुपैयाँ लाभग्राही किसानले बेहोर्नुपर्ने प्रमुख लामाले जानकारी दिए ।