पूजा आराधनागरी विक्रमबाबा मेलाको शुभारम्भ

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मंगलबारदेखि विक्रमबाबाको मेला सुरू भएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीको दिनदेखि सुरू भएर वैशाख पूर्णिमासम्म मेला सञ्चालन हुने गर्दछ। यस वर्ष पनि चैत कृष्ण औँशीको दिनदेखि सुरू भएर वैशाख ११ गते पूर्णिमाको दिनसम्म मेला सञ्चालन हुनेछ ।
मगलबार भरतपुर महानगरपालिका उपप्रमुख एवं मेला आयोजना मूल समारोह समितिका सयोजक चित्रसेन अधिकारीले एक कार्यक्रमबीच विक्रमबाबाको पूजा आराधनागरी मेलाको शुभारम्भ गरे ।
मेलाको शुभारम्भ गर्दै नगर उपप्रमुख अधिकारीले विक्रमबाबा सबैको आस्थाको केन्द्रबिन्दु भएको बताए । हिजोका दिनमा थारु समुदायले मात्रै मनाउँदै र मान्दै आएको यस पर्वलाई अहिले सबै जातजातिहरुले उत्तिकै महत्त्वका साथ मनाउँदै आएको बताए । उपप्रमुख अधिकारीले विक्रमबाबा सबैको आस्था र धरोहर रहेको उल्लेख गरे ।
चैते दसैँमा हजारौँ भक्तजनले विक्रमबाबा दर्शन गर्ने र पशुपक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् । साथै, छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।
मन्दिरमा पूजा गर्नका लागि बिहान ६ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म समय तोकिएको छ । साँझ ५ बजेपछि जंगली जनावारको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।
विक्रमबाबाको दर्शन गर्नाले सन्तान प्राप्ति, सुख शान्तिलगायतका मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको पाइन्छ । जानकारहरुका अनुसार वनाम गरेको आदिवासीहरुको (गुरौ) को बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गर्नाले मनले चिताएको पूरा हुन्छ भन्ने विश्वास पनि रहिआएको छ ।
चितवनको राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । मेलामा धूमपान तथा मद्यपानलाई पूर्णरुपमा निषेध गरिएको छ । त्यस्तै मेला परिसरमा सहायता कक्ष र हेल्थ डेस्क पनि राखिएको छ ।
भक्तजनहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स, भर्इपरी आउने दैवी प्रकोप तथा उद्धारको लागि दमकल पनि मेला अवधिभर मेला परिसरमा रहनेछ । विक्रमबाबा पूजा स्थल कसरा क्षेत्रको भित्री व्यवस्थापनको जिम्मा चितवन राष्ट्रिय निकुञ्जले गरेको छ भने बाहिरी क्षेत्रको मेला व्यवस्थापनको जिम्मा नगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएको छ ।
मेलाको झण्डै सात लाख दर्शनार्थीले अवलोकन गर्ने अनुमान गरिएको कार्यसम्पादन समितिका संयोजक एवं भरतपुर-२३ का अध्यक्ष दीपक दवाडीले जानकारी दिए ।