एचपिभी खोपबारे सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम

केशव

माघ ६, २०८१

share this:

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको अध्यक्षता एवम् नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एचपिभी खोप अभियानका बारेमा प्रकाश पार्दै स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले रत्ननगरका ४१ विद्यालयमा ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत किशोरी तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

जनस्वास्थ्य अधिकृत पौडेलका अनुसार ४१ विद्यालयका चार हजार ६६ जना र विद्यालयबाहिर रहेका एक सय गरी कुल चार हजार १६६ जना किशोरीलाई एचपिभी खोप लगाइने छ । यही माघ २२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि १६ वटै वडाका ५९ जना स्वास्थ्यकर्मी र ११८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुने उनले बताए ।

नेपाल सरकारले यस वर्ष अभियानका रुपमा र अर्को वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गर्ने गरी नेपालभर १६ लाख ८८ हजार ७६८ जना किशोरीका लागि एचपिभी खोप लगाउने कार्यक्रम रहेको र बागमती प्रदेशमा दुई लाख ७३ हजार १२१ ज्ना किशोरीलाई एचपिभी खोप लगाउने कार्यक्रम रहेको उनको भनाइ छ ।

रत्ननगर नगरपालिकाका नगरउपप्रमुख यादवप्रसाद पाठकले सबैको साझा प्रयासबाट पूर्ण खोप सुनिश्चितता गर्नेतर्फ सरोकारवाला सबैलाई अनुरोध गरे । पूर्ण खोप पालिका घोषणाका लागि वडावडामा खोप लगाउन छुटेका बालबालिकाको खोजी गरी शून्यदेखि १५ महिनामुनिका बालबालिकालाई अनिवार्य र छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउनसमेत उनले आग्रह गरे ।

कार्यक्रममा सरकारको लक्ष्यअनुरुप सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर निमुल पार्न एचपिभी भाइरसका बारेमा सबैलाई बुझाउन जरुरी रहेको प्राविधिक अम्बिका पौडेलले बताइन् । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाले वडावासीको घरदैलोमा पुगेर संकलन गरेको सूचनाका आधारमा योजना बनाएर काम गर्नसमेत उनले सुझाव दिइन् ।

स्वास्थ्य शाखाका सहसंयोजक बासुदेव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा एचपिभी रोग लाग्नबाट बचाउने र मृत्युदर घटाउने भएकाले एचपिभी खोप अत्यन्त प्रभावकारी रहेको बताइएको थियो । कार्यक्रमको सहजीकरण दीपेन्द्र विश्वकर्माले गरेका थिए । कार्यक्रममा रत्ननगरका १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।