भरतपुर महानगरलाई पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

भरतपुर । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा गरिएको छ । यसअघि पूर्ण खोप घोषणा गरिए पनि हरेक वर्ष बालबालिका जन्मनेक्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले बिहीबार भरतपुर महानगर सभाहलमा एक कार्यक्रमबीच पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो ।
तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्यभन्दा दिगोपन दिनु मह¤वपूर्ण विषय भएको उल्लेख गरिन् । महानगरपालिकाले पूर्ण खोप अभियानलाई निरन्तरता दिन कुनै कसर बाँकी नरहने प्रमुख दाहालले बताइन् ।
आधारभूत स्वास्थ्यसेवा स्थानीय जनताको घरदैलोमा पु¥याउनेगरी यसअघि ‘मेयर स्वास्थ्य कार्यक्रम’मार्फत १७ हजार ज्येष्ठ नागरिकको घरमै पुगी स्वास्थ्य जाँच गरिएको पनि उनले जानकारी दिइन् । गत वर्ष ६८ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको र अब क्रमशः कम उमेरका नागरिकको स्वास्थ्य परीक्षण गरिने उनले बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे । उनले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरे ।
चितवनभन्दा बाहिरका बालबालिकाहरू छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने/जाने भएका कारण बालबालिका यकिन गर्न कठिनाइँ भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले बताए । विशेषगरी भारत र तराई क्षेत्रका बालबालिकामा त्यस्तो समस्या पाइएको छ ।
यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोपकेन्द्रबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोपकेन्द्र समुदायस्तरमा सञ्चालन हुँदै आएको छ । भरतपुर महानगरपालिकाअन्तर्गत एउटा प्राथमिक स्वास्थ्यकेन्द्र, १३ वटा स्वास्थ्यचौकी, १४ वटा आधारभूत स्वास्थ्यकेन्द्र, तीनवटा नगरस्वास्थ्यकेन्द्र, एउटा स्वास्थ्य क्लिनिक, एउटा मातृशिशु क्लिनिक, छवटा आयुर्वेद औषधालय र एउटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् ।
खोप वितरणका लागि चारवटा कोल्ड चेनसहितको खोप वितरण केन्द्र रहेको छ । जसमध्ये एकवटा स्वास्थ्य शाखा, शारदानगर स्वास्थ्यचौकी, शिवनगर प्राथमिक स्वास्थ्यकेन्द्र र मेघौली स्वास्थ्यचौकी रहेका छन् ।