रत्ननगर–१२ मा सामाजिक सुरक्षा भत्ता सचेतना कार्यक्रम

रत्ननगर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाको आयोजनामा रत्ननगर–१२, सालघारीमा सामाजिक सुरक्षा भत्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । विपन्न र सीमान्तकृत समुदायलाई लक्षित गरी ‘टोल–टोलमा सामाजिक सुरक्षा भत्ता सचेतना अभियान’अन्तर्गत सञ्चालित यो कार्यक्रम रत्ननगर–१३ बाट सुरू गरिएको हो ।
सामाजिक सुरक्षा भत्ताको मह¤व, प्रक्रिया र प्रावधानबारे स्थानीयवासीलाई सुसूचित गर्ने लक्ष्यका साथ सञ्चालित सो कार्यक्रममा सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्णअपाङ्ग, अशक्त अपाङ्ग, बालबालिका र आदिवासी जनजातिलाई सात शीर्षकमा भत्ता वितरण भइरहेको जानकारी दिए ।
उनले राष्ट्रिय परिचयपत्र अनिवार्य भएकोले सामाजिक सुरक्षा भत्ताका लागि साउन–भदौमा वडा कार्यालयमार्फत नवीकरण गर्नुपर्ने जानकारी दिए । ‘नवीकरण नगरे भत्ता रोकिन्छ, तर स्वास्थ्य अवस्थाका कारणले उपस्थित हुन नसक्नेले संरक्षकमार्फत नवीकरण गर्न सक्ने सुविधा छ’, उनले भने । विदेशमा रहेका व्यक्तिको भत्ताको नवीकरण नहुने, तर स्वदेश फर्किएपछि निवेदन दिएमा अर्को महिनादेखि भत्ता पुनः सुरू हुने उनले प्रष्ट पारे । अन्य जिल्लामा रहेका व्यक्तिको हकमा सम्बन्धित पालिकाबाटै नवीकरण गर्न सकिने बताए ।
रत्ननगर नगरपालिकाभित्र हाल १२ वटा बैंकमार्फत १६वटै वडामा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको र रत्ननगर–१२ मा आइसिएफसी फाइनान्समार्फत भत्ता वितरण कार्य भइरहेको जानकारी दिए ।
पञ्जीकरण उपशाखा प्रमुख बस्ताकोटीले पेन्सन लिने व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने र दोहोरो सुविधा लिन नमिल्ने बताए । ज्येष्ठ नागरिक भत्ताका लागि उमेर सीमा ६८ वर्षबाट ७० वर्ष पु¥याइएको उनले जानकारी दिए । नेपालमा सामाजिक सुरक्षा भत्तामा वार्षिक साढे एक खर्ब खर्च भइरहेको उल्लेख गर्दै उनले भत्ताको दुरुपयोग रोक्न सचेतना अभियान सञ्चालन गरिएको बताए । यो अभियानले सामाजिक सुरक्षा भत्ताको पहुँच बढाउन र सीमान्तकृत समुदायलाई सचेत गराउन मह¤वपूर्ण भूमिका खेल्ने बस्ताकोटीले बताए ।
कार्यक्रममा रत्ननगर–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीले यो अभियानले योग्य व्यक्तिलाई भत्ता प्राप्त गर्न सहज हुने बताए । ‘स्वास्थ्य अवस्थाको कारणले बैंकसम्म जान नसक्ने लाभग्राहीका लागि घरमै भत्ता पु¥याउने व्यवस्था गरेका छौँ’, उनले भने । वडा कार्यालय सधैँ सेवाग्राहीको सहयोगका लागि तयार रहेको र कार्यालय समयबाहेक पनि वडावासीका समस्या समाधान गर्न आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा वडा सदस्य चन्द्रकला पनेरु, सुकमाया विक र वडा सचिव शंकर गिरीको उपस्थितिमा स्थानीयको तर्फबाट तीर्थ तामाङले भत्तासम्बन्धी गुनासो राखेका थिए ।