सिमलताल दुर्घटना : बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किंदै

भरतपुर । चितवनको सिमलतालमा त्रिशूली नदीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किंदै छ । नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।
यसअघि भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी ग र्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।
यसैबीच, शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बसजस्तो बस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मीहरुले भने सो बस्तु बस नभएको बताएका छन् ।
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रुमध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।