चितवन महोत्सवको तयारी तीव्र
भरतपुर । यही पुस २५ देखि सुरू हुने १५ औँ संस्करणको चितवन महोत्सव मूल आयोजक समितिको बैठक सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनमा बसेको बैठकले महोत्सवको तयारीका बारेमा छलफल गरेको हो ।
मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले महोत्सवको तयारीका बारेमा समितिका सदस्यहरुलाई जानकारी गराए । उनले महोत्सवमा स्टल निर्माणको काम ९० प्रतिशत बढी सकिएको बताए । अब प्रत्येक प्रदर्शकहरुलाई उनीहरुको स्टल पहिचान गराउने काम थालिने बताए ।
अन्यत्र महोत्सव सकेर आएका प्रदर्शकको सामग्री व्यवस्थापनका कामहरु गरिएको उनले बताए । त्यसैगरी महोत्सव भित्रको सुरक्षा व्यवस्था आन्तरिकरुपमा आयोजकले गर्ने र बाह्य सुरक्षाका लागि नेपाल प्रहरीले गर्ने गरी तयारी थालिएको उनले बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवको उद्घाटनको दिन सुरूमा शोभा यात्रा निकाल्ने तयारी गरिएको छ । महोत्सवको उद्घाटनका लागि संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीको प्रमुख उपस्थिति रहने छ ।
बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले महोत्सव सफल पार्न भरतपुर महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए । भरतपुर महानगरपालिका महोत्सवको प्रवद्र्धक संस्थाका रुपमा रहेको छ । बैठकमा समितिका सदस्यहरुले महोत्सवलाई सफल पार्न विभिन्न सुझावहरु दिएका थिए ।
महोत्सव प्रवद्र्धन समितिका संयोजक एवम् उवासंघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले महोत्सव सफल पार्न मूल आयोजक समितिका सदस्यहरुको मह¤वपूर्ण भूमिका रहने बताउँदै आफ्नोतर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । उनले महोत्सवको व्यापक प्रचारमा यतिखेर जुटिएको र सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएको जानकारी गराए ।
यही पुस २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदीकिनारमा हुन लागेको १५ औँ संस्करण चितवन महोत्सवका लागि आठ सय ८३ सदस्यीय मूल समिति बनाइएको छ ।