नारायणी पब्लिक स्कुलको ३०औँ वार्षिकोत्सव सम्पन्न

केशव

फाल्गुन ५, २०८१

share this:

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–११, विशालचोकमा रहेको चितवनको पाँचौँ निजी विद्यालयको रुपमा स्थापित नारायणी इङ्लिस पब्लिक स्कुलको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेश्वर खनालको अध्यक्षता एवम् भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य वेदराज न्यौपानेले विद्यालयको वार्षिक प्रतिवेदन एवम् आगामी कार्ययोजना प्रस्तुत गर्दै चितवनकै उत्कृष्ट यस विद्यालयले आगामी दिनमा २१ औँ शताब्दीको माग, समाज र राष्ट्रको अपेक्षाअनुसारको शैक्षिक नीति तयार पार्दै प्रविधिमैत्री शिक्षण प्रक्रियालाई अघि बढाउने प्रण गरे ।

नारायणी इङ्लिस पब्लिक स्कुलका संयोजक जनकराज घिमिरेले स्वागत मन्तव्यमार्फत सम्पूर्ण अभिभावक एवम् अतिथिहरुप्रति धन्यवाद ज्ञापन गरे । सो अवसरमा विद्यालयमा अध्ययन गर्ने बालबालिकाको सिर्जना समेटिएको वार्षिक बालपत्रिका “सयपत्री” ११ अङ्क १५ औँ वर्षको विशेषाङ्क लोकार्पण गरिएको थियो ।

विद्यालयले गत माघ १९ गतेदेखि खेलकुद सप्ताहअन्तर्गत विद्यार्थीबीच विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न गरेको थियो । जसअनुसार जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता तथा अङ्ग्रेजी हिज्जे प्रतियोगिता आयोजना गरिएको थियो ।

विद्यालयका अतिरिक्त विभाग प्रमुख नवीन बगालेले सञ्चालन गरेको समापन कार्यक्रममा विद्यालयमा अध्यापन गराउने उत्कृष्ट शिक्षकलाई सम्मान गरिनुका साथै खेलकुद, अध्ययन र जिल्लास्तरीय प्रतियोगितामा विजयी विद्यार्थीलाई सम्मान गरिएको थियो ।