भरतपुर अस्पतालको ६९औँ वार्षिकोत्सव : ‘प्लास्टिकको झोला निषेधित क्षेत्र घोषणा’

चितवन । भरतपुर अस्पतालको ६९औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्लास्टिक झोला निषेधित क्षेत्र घोषणा गरे । उनले अस्पताल सुधारका लागि प्रदेश सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्रदेश सांसद् जेएन थपलियामार्फत योजनाहरु ल्याउन आग्रह गरे ।
अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले तीन महिनादेखि विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा प्लास्टिक झोला निषेधित क्षेत्र घोषणाले मूर्तरुप लिएको बताए । मेसु पौडेलले आगामी सात महिनामा अस्पताललाई ७०० बेड क्षमतामा स्तरोन्नति गर्ने योजना रहेको बताए ।
मेसु पौडेलका अनुसार अस्पतालमा १२ सय बढी कर्मचारी कार्यरत छन् । तीमध्ये करिब ४०० जना कर्मचारीको मात्रै संघीय सरकारले उपलब्ध गराउँदै आएको छ । ८०० बढी कर्मचारीको तलब अस्पताल सञ्चालक समितिले व्यवस्थापन गर्दै आएको उनले जानकारी दिए ।
अस्पतालमा दैनिक १६ सयदेखि २९ सय बिरामीले ओपिडी सेवा लिने गरेका छन् । अस्पतालको आम्दानीभन्दा १३ करोड रूपैयाँ बढी खर्च भएको र स्वास्थ्य बिमा बोर्डको बक्यौता करिब ४९ करोड रूपैयाँ पुगेको मेसु पौडेलले जानकारी दिए ।
अस्पतालका अध्यक्ष राजु पौडेलले एमबिबिएसको पढाइ सुरू गर्न धेरैपटक गरिएको प्रयास सफल नभएको बताए । सरकारको गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश भएर पनि भरतपुर अस्पतालमा एमबिबिएस सञ्चालन हुन नसकेको उनले बताए ।
सहमतिको ‘प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट प्रोग्राम’ परियोजनाका संयोजक खेमराज खनालले प्लास्टिक निषेधित क्षेत्र घोषणाअघि पाँच सय थान कपडाका झोला वितरण गरिएको बताए । प्लास्टिक झोला निषेधित क्षेत्र घोषणाका लागि सहमति, बेटर चितवनलगायतका संस्थाहरुले सहजीकरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटा, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्णप्रसाद भूषाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष रामचन्द्र अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।