पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्दैन – स्वास्थ्यमन्त्री जोशी

रत्ननगर । बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले पैसाको अभावमा कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपर्ने बताएका छन् ।
प्रदेशस्तरीय बकुलहर रत्ननगर अस्पतालको न्यूनतम सेवा मापदण्ड फ्लोअप मापन कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री जोशीले जनताको भावनासँग जोडिएको संस्था भएकाले गुनासो सम्बोधन हुनेगरी सेवा प्रवाह गर्न र सरल, व्यवस्थित र गुणस्तरीय अस्पताल बनाउन कुनै कसर बाँकी नराख्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । सो अवसरमा उनले प्रदेश सरकारको सामाजिक सेवा इकाइमार्फत विपन्न, असहाय र सीमान्तकृतले उपचार गर्न पाउने नैसर्गिक अधिकार भएकाले पैसा नभएकै कारण कोही पनि बिरामी फर्कनुनपर्ने उनको भनाइ थियो ।
बकुलहर रत्ननगर अस्पतालको सेवा प्रवाहमा ८४ प्रतिशत प्रगति भएकोमा यसलाई अझै सुधार गरी उत्कृष्ट अस्पताल बनाउन उनले निर्देशन दिए । अस्पतालले कुनै पनि विषयमा दोस्रो पक्षसँग सम्झौता गर्दा वा निर्णय प्रक्रियाका लागि अनिवार्यरुपमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्न उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्य र मेसु मदन ज्ञवालीसँग अनुरोध गरे ।
कार्यक्रममा शान्ति मेड नेपालका संस्थापक डा.रुथ गोन्सेथ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्य मन्तव्य व्यक्त गरेका थिए । अस्पतालको न्यूनतम सेवा मापदण्ड फ्लोअप मापन कार्यक्रमको मूल्यांकनमा डा. नवीन दर्नालले अस्पतालको सेवाह प्रवाहमा ८४ प्रतिशत प्रगति देखिएको सुधार गर्नुपर्ने पक्षहरुका विषयमा सुझाव दिएका थिए ।