भरतपुर–२० मा बारुणयन्त्र इकाइ तथा नगर प्रहरी बिटको शुभारम्भ
भरतपुर । पश्चिम भरतपुरलाई लक्षित गर्दै वडा नं २० बाट सेवा पुर्याउने गरी बिहीबारबाट बारुण यन्त्र (दमकल) इकाइ तथा नगर प्रहरी बिटको शुभारम्भ गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो इकाइको उद्घाटन गरिन् ।
पश्चिम भरतपुरका झण्डै १५ वटा वडाहरुमा हुने गरेका विपद् तथा विपदजन्य घटनाहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले बारुण यन्त्रको सेवालाई थप व्यवस्थित र विस्तार गरिएको महानगरले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर दुई नदी र जंगलले घेरिएको ठाउँ भएकाले यहाँ प्राकृतिक विपत्तिको सम्भावना धेरै हुने भएकाले बारुण यन्त्र इकाइ स्थापना गरिएको उल्लेख गरिन् ।
भरतपुरमा नदीको जोखिमलाई अन्त्य गर्न नारायणी तटबन्धको काम भइरहेको र जंगली जनावरको नियन्त्रणका लागि मेसजालीसहितको फाउन्डेसनको काम अघि बढेको जानकारी दिइन् । भरतपुरलाई सुरक्षित महानगर बनाउने गरी बर्सेनि विभिन्न कार्यक्रमहरुलाई अगाडि बढाउँदै आएको उनको भनाइ थियो ।
यस्तै, उपप्रमुख चित्रसेन अधिकारीले महानगरपाकिाले भरतपुर २० मा बारुण यन्त्रकेन्द्र स्थापना गरी जनतालाई थप सुरक्षित महसुस गराउने प्रयास गरेको बताए । दूरीका हिसाबले भरतपुर २० मध्य भागमा रहेकाले पश्चिम चितवनमा वडाहरुमा प्रभावकारी हुने उनको भनाइ थियो ।