सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन, चालकको उद्धार गरी केएमसी लगियो

केशव

साउन ९, २०८१

share this:

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक मनीष शाक्यलाई उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् । विमानमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।