बछौली स्वास्थ्यचौकीलाई हेल्पिङ ह्यान्डको उपकरण सहयोग

रत्ननगर । सामाजिक संस्था हेल्पिङ ह्यान्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले रत्ननगर नगरपालिका वडा नं–६, बछौलीस्थित बछौली स्वास्थ्यचौकीलाई ३४ लाख ५० हजार रुपैयाँबराबरको स्वास्थ्य उपकरण र सामग्री प्रदान गरेको छ ।
अस्पतालमा निःशुल्क उपचार गराउन आउने बिरामीलाई मध्यनजर गरी सो संस्थाले स्वास्थ्य उपकरण र सामग्री स्वास्थ्यचौकीलाई प्रदान गरेको हो । हेल्पिङ ह्यान्ड फर रिलाइफ एन्ड डेभलपमेन्टका म्यानेजर जप्वा पोखरेल, ग्रामीण महिला विकास केन्द्रकी कोषाध्यक्ष आशा कँडेल सापकोटाले रत्ननगर –६ का वडाध्यक्ष एवं स्वास्थ्यचौकी सञ्चालन समितिका अध्यक्ष किरण महतो र स्वास्थ्यचौकी प्रमुख केशवबाबु पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष महतोले स्वास्थ्य उपकरणको सहयोगले नियमित स्वास्थ्यचौकी सञ्चालनमा ठूलो टेवा पुग्ने र नमुना स्वास्थ्यचौकीको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले अन्य सहयोगी संस्थाहरुसँग पनि हातेमालो गरी अगाडि बढ्ने र आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्दै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गरे ।
वडाध्यक्ष महतोकोे अध्यक्षता एवम् हेल्पिङ ह्यान्ड फर रिलाइफ एन्ड डेभलपमेन्टका म्यानेजर पोखरलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्यचौकी प्रमुख पौडेलले गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य एवं वडा सदस्य बबिताकुमारी चौधरी, वडा सदस्यहरु गोपीकृष्ण बिडारी, केशरीमाया सुनार, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री राममणि खनाल, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।